लंकु,चितवनको महायज्ञ सम्पन्न झन्डै ३ करोड २३ लाख रकम संकलन

काठमाडौं,७ फागुन । चितवन लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा डा. कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा माघ २१बाट प्रारम्भ भएको १५ दिने लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सवको आज समापन भएको छ।
समापन समारोहमा बोल्दै वाग्मती प्रदेश पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीले गुरुकुलको विकासका लागि सरकारबाट सहयोग जुटाउन आवश्यक पहल गर्न आफू हरदम तयार भएको बताउँदै हाम्रो संस्कृति -संस्कार जीवन्त राख्न गुरुकुल शिक्षाको आवश्यकता औंल्यानुभयो ।महायज्ञमा नगद र बोलकबोल गरी झण्डै २ करोड २३ रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले बताउनुभयो।
महायज्ञको प्रथम चरणमा यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरणमा अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम-कृष्णकथामृत प्रवचन गर्नुभएको थियो ।
महायज्ञमा वेद,पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण ,हयग्रीव- महालक्ष्मी-महासरस्वतीको विशेष आराधना-अर्चना, हवन साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शनहरू भएका थिए। महायज्ञमा देशका प्रमुख सन्त- महात्माहरू , शैक्षिक , राजनैतिक , सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
लक्ष्मीवैकुण्ठनाथ मन्दिरको प्रतिष्ठापूर्व नै २०२७ सालतिरबाटै अनौपचारिकरूपमा स्वामी , गुरु एवम् पुजारीहरूबाट विद्यार्थीहरूलाई यथोचित शिक्षा दिने कार्य चल्दै आएकोमा वर्तमान पीठाधीश जगन्नाथाचार्य स्वामीको अभिषेकपछि २०४१ सालबाट वेद-वेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन भएको सो गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२सम्म संचालन भइरहेको छ।
गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित नि: शुल्क शिक्षा लिइरहेका छन् । गुरुकुलमा हाल संचालित माध्यमिक तहको गुरुकुलीय संस्कृत शिक्षालाई सुव्यवस्थित , गुणस्तरीय र समृद्ध बनाउँदै उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस