आज महाशिवरात्रि पर्व,भगवान् शिवको पूजा–आराधना गरिँदै

काठमाडौं,६ फागुन । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरीन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।
आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस