पशुपतिनाथमा २० लाख भक्तजनले दर्शन गर्ने अनुमान

काठमाण्डाै,४ फागुन । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको संख्या भने गत वर्ष २० लाख थियो । यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो ।

महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजक समेत रहेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए ।

कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ८० लाख बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौँ आउने भएका छन् । फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ । साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ । पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ । फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ । मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पु¥याएका हुन् ।

फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शैंयाका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वकै अवसर पारेर कोषले माघ २९ गतेदेखि नै ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सुरु गरिसकेको छ । जसअन्तर्गत प्रत्येक दिन सफाइ भइरहेको छ । पहिलो चरणमा एक महिनासम्म यो अभियान चल्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस