कोटिहोम महायज्ञमा आज स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ता
चितवन,३ फागुन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा आज (बुधबार) सुकदेव भागवत आश्रम गैंडाकोटका पीठाधिस स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ताका रुपमा सहभागी भएका छन् । उनले महायज्ञको अवलोकन गर्नुका साथै एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन हुने महायज्ञ महत्वपूर्ण धार्मिक अनुष्ठान भएको बताए ।
महायज्ञमा सहभागी भएर भक्तजनले पुन्य लाभ गर्न सक्ने उनले बताए । त्यस्तै महायज्ञमा आज व्यास गुफा दमौलीका संरक्षक दामोदर बाबाजी विशिष्ट आतिथ्यता रहेको छ । शनी धाम माडीका संस्थापक एवम् धार्मिक अभियान्ता सुदर्शन सुवेदीको पनि सहभागी रहेको थियो । कार्यक्रम सञ्चालन फुलनाथ न्युरेले गरेका थिए ।
महायज्ञको आज २१औँ दिनसम्म आइपुग्दा चरु अभाव नभएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । अन्तिम चरणतर्फ प्रवेश हुँदै गर्दा महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको उनले बताए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ यहि फागुन १२ गते सकिँदै छ ।
प्रतिकृया दिनुहोस