यस्तो छ बागलुङ कालिका भगवती मन्दिरको महिमा

बागलुङ,३ फागुन । बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन ।

यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको बताईन्छ । कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्था गर्न ‘कालिका भगवती गुठी सञ्चालक समिति’ रहेको छ । पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि नै विशेष गरेर खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ । मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ । मन्दिरको चार दिशामा चार ढोका रहेका छन् । पूर्व दिशाको ढोका सितिमिति खोलिदैन । त्यो ढोका खोले नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ । मन्दिर जीर्णोद्वारको बेला वि.सं. १९८२ मा उक्त ढोका खोल्दा यस्तै भएको विश्वास रहँदै आएको छ ।

बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ ।

वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । नियम पूजामा पन्चबली चढाइन्छ । नवरात्रको बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् ।

शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ । बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो छ । त्यो बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ । राती जाग्राम बस्ने कतिपय महिलाहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने पनि गर्छन् । राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।

बागलुङको ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी ल्याइएको छ । कालिका मन्दिर आउने दर्शालु भक्तजनहरुलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह पनि निर्माण गरिएको हो । मुस्ताङको मुक्तिनाथ देखी धार्मिक महत्वको साथ बगिरहेको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासिक सम्बन्धलाई नौ धाराले थप सदृढ पारेको छ ।

मन्दिरको प्रवेश गर्ने मुल गेट बाट अगाडि जाँदा बाटोको बाँया भागमा मन्दिरको उत्तर दिशामा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्ती मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट पानी खसालिएको छ । मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको छ ।

निरन्तर नौ धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ ।

पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ ।

प्रतिकृया दिनुहोस