सुदन किराँतीका अभिव्यक्ति र धार्मिक क्षेत्रको आशा अपेक्षा
नेपालको धार्मिक साँस्कृतिक क्षेत्रको नियमन गर्ने तालुकदार मन्त्रालय संस्कृति मन्त्रालय हो । मुलुकमा धर्म निरपेक्षताले प्रवेशपछि नियुक्ति भएका अधिकांश संस्कृति मन्त्रीले सरकार मातहत भएका धार्मिक साँस्कृतिक निकायको शुद्धीकरणको अनुभूति गराउन सकेनन् यद्यपि पूर्व मन्त्री प्रेम आले निकै चर्चामा हुनुहुन्थ्यो ।
वि सं २०६५ सालमा तत्कालीन संस्कृति मन्त्री गोपाल किराँतीको पालामा श्रीपशुपतिनाथमा भारतीय नागरिक मूलभट्टलाई हटाएर नेपाली नागरिकलाई मूलभट्ट नियुक्ति गरेपछि निकै चर्चित हुनुभएको थियो ।
पछिल्लो पटक २०७९ माघ ३ गते संस्कृति मन्त्री हुनुभएका माननीय सुदन किराँतीले आफू मातहतका धार्मिक साँस्कृतिक निकायमा शुद्धीकरण गर्ने प्रतिवद्धता सहितको प्रष्ट र खुला विचार राखेर अहिले सार्वजनिक संञ्चार माध्यममा निकै लोकप्रियता प्राप्त गरिरहनुभएको छ ।
साथै आफ्ना मातहतका निकायमा भएका बेथितिको राम्रो पहिचान गर्न सफल हुनुभएको छ। मन्त्री पदमा नियुक्ति भएको एक महिना पनि नबित्दै मन्त्रीहरूमध्ये अहिले सबैभन्दा उत्कृष्ट पर्फमेन्स दिन सफल हुनुभएको छ संस्कृति मन्त्री सुदन किराँती ।
उहाँको शुरुवाती क्रियाकलापले नेपाली धार्मिक समाजमा आशाको दियो बलेको अनुभूति भएको छ । यद्यपि उहाँको सार्वजनिक अभिव्यक्तिको कार्यान्वयन पक्ष हेर्न बाँकी नै छ । मन्त्री नियुक्ति हुनेवित्तिकै नेपाल वायुसेवा निगमको वस्तुस्थिति अवलोकन गरेर दिनुभएको निर्देशन निकै आशालाग्दो देखियो ।
नागरिक उड्डयन क्षेत्रमा भएका समस्या समाधान गर्न उहाँको जागरुकताले सबैको प्रशंसा प्राप्त गर्यो । मन्त्री किराँतीले दिनुभएको अर्को चर्चित निर्देशन पशुपति क्षेत्र विकास कोष संचालक परिषदलाई थियो । सबैको आस्था र सम्मानको केन्द्र श्री पशुपतिनाथ मन्दिर क्षेत्रका गतिविधिलाई संधै विवादको केन्द्रविन्दुमा पारेर सनातन धर्मको विश्व केन्द्रको बद्नाम गराउन खोज्ने कुतत्त्वलाई मन्त्री किराँतीको तीखो आँखाले नियाल्न थालेपछि पशुपतिक्षेत्रका कमिसनखोर बिचौलियाहरुको निद हराम भएको छ ।
पशुपतिनाथ क्षेत्रमा हुँदै आएको फूल प्रसादी एवम् धार्मिक पूजा सामाग्री व्यापारमा हुने गरेको अनियमितता, घाट व्यवस्थाभित्र हुने अनियमितता, विदेशी दर्शनार्थीहरुमाथी गरिने ठगी कार्य लगायत विभिन्न बुंदामा मन्त्री किराँतीले कोष प्रशासनलाई दिएको प्रष्ट निर्देशनले अब कोषले अल्पकालीन र दीर्घकालीन कार्ययोजना पेश गर्नुपरेछ र केही समयमा नै सुधारको नतिजा देखाउनुपर्नेछ ।
सदस्य सचिव सहित कोष परिवारलाई पनि मन्त्रीको यो प्रष्ट मार्गदर्शनले सकारात्मक प्रभाव दिएको छ । मन्त्री किराँतीको नेतृत्वको अर्को परीक्षा गौतम बुद्ध जन्मभूमि लुम्बिनीमा भएको छ ।
लुम्बिनी क्षेत्रमा एक भारतीय सन्तले आयोजना गर्न लागेको रामायण प्रवचन कार्यक्रम विथोलेर नेपाल भारतको साँस्कृतिक संवन्ध विथोल्न र नेपालमा सनातनदेखि अभिन्न रहिआएको हिन्दु बौद्धबीचको धार्मिक साँस्कृतिक सद्भाव विथोल्न चाहने कुतत्वलाई मन्त्री किराँतीले निस्तेज बनाउन सफल हुनुभएको छ ।
नेपालमा हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन श्री पशुपतिनाथलाई भगवान बुद्धको मुकुट लगाइदिएर बुद्धरूपमा पूजा गर्ने परम्परा छ । हिन्दुहरुको महत्त्वपूर्ण मन्दिर दक्षिणकालीमा तपस्या गरेर बौद्ध गुरुहरुले सिद्धी प्राप्त गर्दछ्न् । खोटाङको हलेसी, ताप्लेजुङ पाथीभरा, मुस्ताङको मुक्तिनाथ लगायत दर्जनौं तीर्थहरु हिन्दु र बौद्धका साझा उपासनास्थल छन् ।
यस्तै बुद्ध जन्मस्थल लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध, स्वयम्भूकि अजिमा लगायत बौद्ध तीर्थहरुमा हिन्दुहरुको पनि ठूलो श्रद्धा छ । नेपालका गणेश मन्दिरहरुमा हिन्दु बौद्ध सबैले पूजा गर्छन् । धेरै जात्रा पर्वहरु हिन्दु बौद्ध सबैले संगसंगै मिलेर उत्साहपूर्वक मनाउने परम्परा हाम्रो नेपालमा छ ।
हिन्दू बौद्ध जैन शिख किराँत सबै एक ॐकारका उपासक भएर मिलेर बसेको देशमा लुम्बिनीमा द्वन्द्व उद्यमी केही प्रयोजित संस्थाको षड्यन्त्रमा हुन लागेको वितण्डा रोक्न मन्त्री किराँती सफल हुनुभएको छ । लुम्बिनीलाई देखाएर दाताहरुसंग भीख माग्ने होइन लुम्बिनीमार्फत विश्वशान्तिको नेतृत्व गर्नुपर्छ भन्ने लुम्बिनीको सन्दर्भमा उहाँले दिनुभएको मन्तव्य अझ मर्मस्पर्शी छ ।
मन्त्री सुदन किराँतीका सामु चुनौती धेरै होलान् तर धर्म र संस्कृति क्षेत्रमा नेपाल विश्वको गुरुराष्ट्र भएको सन्दर्भमा नेपालको गुरुत्व र गरिमा विश्व सामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अवसर उहाँले प्राप्त गर्नुभएको छ ।
उहाँका प्रारम्भिक अभिव्यक्तिका आधारमा नेपालको धार्मिक साँस्कृतिक क्षेत्रले उहाँबाट ठूलो आशा, अपेक्षा र भरोसा प्राप्त गरेको छ । धार्मिक सांस्कृतिक क्षेत्रमा कुनै नयाँ सिर्जना गर्नुपर्ने जरुरी छैन तर नेपालमा भरिपूर्ण भएका सम्पदा बचाइदिने सहज बाटो खोलिदिए मात्रै पनि ठूलो काम बन्नेछ । यसमा सफलता प्राप्त होस् , हार्दिक शुभकामना ।
प्रतिकृया दिनुहोस