कोटिहोम महायज्ञमा शितलकृष्ण महाराजको प्रवचन

चितवन,२३ माघ । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन तथा प्रवचनका लागि सोमबार शितलकृष्ण महाराज पुगेका छन् । अतिथि गुरु शितलकृष्णले महायज्ञमा सहभागी भएका भक्तजनलाई जीवनको महत्व र दानको बारेमा प्रवचन सुनाएका थिए ।


महायज्ञमा प्रमुख वाचक परशुराम पाण्डेयले नियमित कथा वाचन गरे । महायज्ञमा दिनप्रतिदिन भक्तजनको सहभागीता बढेको उनले बताए । महायज्ञमा भक्तजनको सहभागीता सँगै चरु संकलन र विभिन्न धार्मिक कार्यक्रम हुने क्रम पनि बढेको छ । माघ १२ गतेदेखि सुरु भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुने छ ।

महायज्ञको अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार बत्ति प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।


महायज्ञमा एक दिनको समग्र भोजनलाई सहयोग गर्न एक लाख दुई हजार, भक्त प्रसादको लागि ५१ हजार, ब्राह्मणलाई एक दिनको भोजनको लागि ५१ हजार, एक छाक भोजनको लागि २५ हजार ५०० र एक दिनको महाआरतीको लागि दुई हजार ५०० रुपैयाँ सहयोग गर्न सकिने महायज्ञ आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस