कोटिहोम महायज्ञमा शनिबार भक्तजनको उल्लेख्य सहभागीता,चौरासी र ब्रतबन्धका कार्यक्रम सुरु हुँदै

चितवन,२१ माघ । नारायणी नदी किनारमा माघ १२ गतेदेखि सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शनिबार भक्तजनको उल्लेख्य सहभागीता देखिएको छ । शनिबार बिदाको दिन पनि भएकाले भक्तजनको संख्या धेरै देखिएको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । उनका अनुसार महायज्ञमा शनिबार करिब पाँच हजार भक्तजन सहभागी भएका थिए ।


महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम पनि सुरु भएको छ । शनिबार दुई वटा तुलादान र एउटा ग्रह पुजा भएको उनले बताए । यज्ञ संकल्पकर्ता समेत रहेको महायज्ञ संयोजक प्रेमनिधी भारद्धाजका दुई आमाहरुको तुलादान गरिएको हो ।

आइतबार (भोलि) बाट ब्रतबन्धका कार्यक्रम सुरु हुन लागेको छ । महायज्ञमा एकैदिन सात भन्दा बढी ब्रतबन्ध हुन लागेको अर्थ संकलन समितिका संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । यो महिनामा ब्रतबन्धको लागि बुकिङ गर्ने क्रम सुरु भएको उनले बताए । साथै चौरासी पूजा र ग्रह शान्तिको लागि पनि बुकिङ भएको उनले बताए ।


महायज्ञको अन्तिम दिन फागुन १२ गते महायज्ञमा सहभागी सम्पूर्णलाई भोजन गराउन काठमाडौँका घनश्याम पौडेलले एक लाख दुई हजार रुपैयाँ दान गरेका छन् । साथै महायज्ञको लागि हालसम्म पर्याप्त मात्रामा चरु प्राप्त भएकाले आगामी दिनमा पनि कमि हुन नदिन भक्तजनलाई आग्रह गरिएको छ ।


एक महिनो महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने छ । महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।

 

 



प्रतिकृया दिनुहोस