काठमाडौँ । करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा आजदेखि चावहिल क्षेत्रमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ। नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत् गराएको विश्वास गरिन्छ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइन्छ। चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो। चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ।
पशुपतिनाथ अमालकोट कचहरिका द्वारे पूर्ण डङ्गोलले आज बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो। पूर्णिमाका दिन बेलुकी आज मन्दिर परिसरमा धुनी जगाइने कार्यक्रम छ।
धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ। मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् बुधबार बिहान श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिए। “जात्राको दोस्रो दिन बुधबार गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा, लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”–उनले भने।
यसैगरी बुधबार श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ। स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ। मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् बिहीबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिले जनाएको छ। बेलुकी भने चारुमती बहालमै रथ नचाइ टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ।
मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ। जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा शनिबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ। रासस
प्रतिकृया दिनुहोस