योगमायाले समाज रुपान्तरणको लागि हिडेको बाटो

माया त्याग्न सजिलो छ लोभ त्याग्न कोटी
लोभी चित्त भयो भने कर्म हुन्छ खोटी।

घटिया काम नभै दौलथ जम्दैन,
होइन भन्नता कोही पाउँदैन।

         - योगमाया न्यौपाने

नेपालमा सामाजिक सुधारका लागि संगठित र असंगठित रूपमा धेरै आन्दोलन र जीवन बलिदानसम्मका घटना भएका छन्। समाजमा भएका सयौं वर्ष पुराना सामाजिक कुरीति, अन्धविश्वास, भेदभाव आदिका विषयमा निरंकुश शासकहरूबाट पनि केही सुधारका प्रयास भएका छन् भने तिनै शासकहरूका विरुद्ध पनि निकै आन्दोलन भएका छन्। जसअनुसार एक सय चार वर्षसम्म चलेको राणा शासनको समयमा पनि जातीय वा महिला भेदभाव र हिंसा अन्त्यका लागि तत्कालीन सरकारका तर्फबाट पनि केही सामाजिक सुधारका ऐन-कानुन निर्माण तथा शैक्षिक जागरणका केही प्रयास भने भएका छन्। तर अर्कातिर तिनै निरंकुश शासकहरूका विरुद्धदेखि लिएर जनमुखी भनिएका अहिलेसम्मका सरकारका विरुद्ध पनि जनस्तरबाट भएका त्यस्ता आन्दोलनहरूको शृंखला सुरु भएको सय वर्ष नाघिसकेको छ। त्यसो त सय वर्ष पहिले उठाउन सुरु गरिएका सामाजिक सुधारका तिनै विषय अहिलेका पनि जल्दाबल्दा समस्याकै रूपमा रहिरहेका छन्।

संगठितरूपमा जनस्तरबाट समाज सुधारको आन्दोलन विसं १९७०-८० को दशकमा दिव्या कोइरालाबाट महिला समितिका नाममा भएको अभिलेख पाइन्छ। समाज सुधारक कृष्णप्रसाद कोइरालाको परिवारबाट सुरु भएको त्यस आन्दोलनले राजनीतिक बाटो हुँदै राणा शासनविरोधी आन्दोलनमा गएर रूपान्तरण भएको मान्न सकिन्छ। त्यसको सुत्रधार थिइन्- नेपाली कांग्रेसका संस्थापक सदस्य तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी आमा दिव्या।

योगमायाले हिजो कुन उद्देश्यले जुन बाटो हिँडेकी थिइन्, ती बन्द गरेर उनलाई राज्यले काखी च्याप्दैमा उनको उद्देश्यले पूर्णता पाएको मान्न सकिन्न।

 

 

यसै समय र परिवेशमा सुरु भएको सामाजिक सुधारको अर्को आन्दोलन थियो ( योगमाया नेउपानेको नेतृत्वमा भएको जीवन बलिदानसम्मको आन्दोलन। यसक्रममा तत्कालीन समाजका विभिन्न बेथिति, अन्धविश्वास, महिला हिंसा, जातीय असमानता आदिका विरुद्ध राणा सरकारलाई चेताउन भन्दै सरकारले बेवास्ता गरेको ठानेर अन्ततः विसं १९९८ साल असार ३१ गते हरिशयनी एकादशीका दिन योगमायासहित ६८ जनाले अरुण नदीमा हामफालेर आत्मादाह गरेका थिए। तर यहाँ उल्लेख तिथी र मितिमा भने एकरूपता पाइँदैन किनकि उक्त साल हरिशयनी एकादशी असार २२ गते थियो। यसभन्दा केही पहिले विसं १९९५ कात्तिकमा पनि उनीहरूले सरकारलाई घचघच्याउन भन्दै करिब २ सय ४० जनाले अग्निदाह गरेर जीवन समाप्त गर्न अग्निकुण्ड तयार गरेका थिए। तर तत्कालीन सरकारका बडाहाकिम माधवशमशेर राणाको नेतृत्वमा गएको सुरक्षा फौजले उनीहरूलाई घटना हुनु केही दिन पहिल्यै पक्राउ गरेर जेलमा पनि राखेको थियो। त्यसरी पक्राउ परी जेलमा राखिनेमा योगमायासमेत ११ जना थिए। उनीहरूलाई धनकुटा जेलमा तीन महिनादेखि अढाई वर्षसम्म राखेपछि ‘हामी मर्ने छैनौं यदि मर्‍यौं भने ऐन सबालबमोजिम सहुँला’ भन्ने कागज गराएर छाडिएको थियो।

विद्यमान सामाजिक वा कानुनी असमानता र बेथितिका विरुद्ध भएका विद्रोह वा विरोधमा दुई पक्षबीचको प्रतिरोध वा नियन्त्रणमा लिएर भएका हिंसाका कारण नेपालमा पनि हजारौंले जीवन बलिदान गरेका छन्। त्यस्ता सत्याग्रहीहरूले स्वेच्छाले जीवन बलिदानी गरेका नगण्य घटनामा नेपालको पूर्वीकिनार भोजपुर मजुवाबेंसीमा योगमाया नेउपानेको नेतृत्वमा भएको विद्रोह विशेष र उल्लेख्य पनि छ। राज्यका विरुद्ध भएका यस्ता अन्य धेरै आन्दोलन तिनका नेतृत्वका लागि सत्तामा पुर्‍याउने भर्‍याङ मात्र भएका धेरै उदाहरण छन्। त्यसमा पनि राजनीतिक उद्देश्यले भएका आन्दोलनमा जीवन बलिदान गर्नेहरूको अवस्था त खोलो तर्‍यो लौरो बिस्र्यो बराबर नै छ। त्यसरी नै योगमायाको नेतृत्वमा ६८ जनाले सामूहिक जीवन बलिदान गरेको यो घटना पनि आधा शताब्दीसम्म ओझेलमै परेको थियो। तर घटना भएको पुगनपुग आधा शताब्दीपछि यता आएर भने यसले राष्ट्रिय चर्चा र महत्व पाएको छ। यस घटनालाई ज्ञानमणि नेपाल, जनकलाल शर्मा, बारबरा निम्री अजिज, पारिजात, उत्तम पन्त, मात्रिका तिम्सिना, निनु चापागाईं, हिरण्य भण्डारीलगायतका इतिहासकार, समाजशास्त्री साहित्यकार र पत्रकारहरूको निरन्तरको पैरवीका कारण राज्यले अपनत्व ग्रहण गरेको छ। अर्थात् योगमायाको नेतृत्वमा भएको जीवन बलिदानको गाथाले अब भने राज्यको ढोकाभित्र प्रवेश पाएको छ। योगमायाको आन्दोलन र योगमायालाई केन्द्र बनाएर लेखिएको नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ ले २०७४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

योगमाया न्यौपाने, उनको ‘धर्म राज्य’ मागको आन्दोलन, उनको नेतृत्वमा भएको सामुहिक जलसमाधि अर्थात् आत्मादाह र त्यसको उदेश्य वा प्रभावबारेमा अढ़ाई दशकयता धेरै चर्चा भइसकेको छ। तर अहिले आएर राज्यको ढोकाभित्र प्रवेश पाएकै भए पनि योगमायाको सामाजिक न्यायको अर्थात् ‘धर्म राज्य’ मागको आन्दोलनले पूर्णता भने पाएको छैन। उनले उठाएका मुद्दाहरू आजका अन्य सामाजिक सुधारका आन्दोलनमा पनि त्यत्तिकै ज्वलन्त समस्याका रूपमा उठ्ने गरेका छन्। त्यसमा पनि माथि उल्लेख गरिएका उनका आन्दोलनका पैरवी सम्बन्धित सामाजिक अभियन्ताहरूको निजी प्रयास मात्र भएकाले योगमायाको आन्दोलन, उनको भूमिका र योगादानबारेमा संगठित, व्यवस्थित वा विधिसम्मत अध्ययन तथा अभिलेखीकरण अझै हुन सकेको छैन। अहिले योगमायाका नाममा सरकारले हुलाक टिकट पनि जारी गरेको छ। सरकारले नै उनका नाममा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ भने योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको औपचारिक प्रक्रिया सुरु गरिसकेको छ। उनका नाममा विभिन्न संस्था स्थापना भएका छन्।

सामाजिक न्यायका लागि राज्यविरुद्ध भएका यस्ता आन्दोलनहरूको स्वामित्व राज्यले लिनु सम्बन्धित आन्दोलनको उपल्लो तहको उपलब्धि वा सफलता हो। तर राज्यले त्यस्ता आन्दोलनहरूको स्वामित्व ग्रहण गर्नुपहिल्यै केही न्युनतम आधारभूत पक्षरूको ख्याल गर्नु र तिनका मान्यताहरूको पालना पनि गर्नुपर्छ। सर्वप्रथम राज्यका तर्फबाट त्यस आन्दोलनको आधिकारिक अध्ययन र अभिलेखीकरण हुनुपर्छ। त्यसक्रममा भएका हिंसा दमन र क्षतिका लागि सम्बन्धित पक्षसँग राज्य अर्थात् सरकारले क्षमायाचना तथा दुःख प्रकट सार्वजनिक रूपमा गर्नुपर्छ। क्षतिको मात्राअनुसार मापदण्ड बनाएर क्षतिपूर्ति वा संरक्षणका अन्य विकल्प सम्बन्धित पक्षलाई उपलब्ध गराउनुपर्छ।

योगमायाको नेतृत्वमा भएको आन्दोलनमा उनका साथै ६८ जनाले त एकैसाथ जीवन बलिदानका लागि सामुहिक आत्मदाह नै गरेका थिए। उनीसँग जेल परेका रत्नमानको जेलभित्रै निधन भयो। उनलाई पनि सामाजिक हितका लागि जेल परेका र जेलभित्र निधन भएकाहरूका लागि राज्यले दिनुपर्ने मान्यता वा सम्मान हुनुपर्छ। यसमा सहभागीहरू सबैको सम्मान र सम्झनाका लागि उपयुक्त स्थानमा सार्वजनिक पार्क र बगैंचा आदि निर्माण गरेर उनीहरू सबैको नाम लेखिनुपर्छ। योगमाया आफ्नो जीवनको मध्यकालमा भारतको असमको फूलबारीमा गएर बसेको, त्यहाँ घरबार गरेको, छोरी जन्मिएको र साधना आदि गरेर नेपाल फर्किएकी थिइन्। तर उनी भारतको असमको फूलबारी भनिएका चार-पाँच स्थानमध्ये कुन ठाउँमा गएकी थिइन् र त्यहाँ के गरिन् ? उनको भूमिका र प्रभाव त्यहाँ कस्तो छ भन्ने अहिलेसम्म कसैको पनि जानकारीमा छैन। योगमाया अब शोधकेन्द्रित विषय हुनुपर्छ। राज्यले उत्तेजना आवेग वा अरूको लहलहैमा प्रभावित भएर मात्र होइन, आफ्ना स्रोतसाधनको उपलब्धताले भ्याएसम्म सबै प्रकारका अनुत्तरित प्रश्नहरूको उत्तर खोज्न र आफ्नो मौलिक दस्ताबेज बनाएर त्यसको पारदर्शी अभिलेखीकरण गर्न सक्नुपर्छ।

योगमायाले हिजो कुन उद्देश्यले जुन बाटो हिँडेकी थिइन्, ती बन्द गरेर उनलाई राज्यले काखी च्याप्दैमा उनको उद्देश्यले पूर्णता पाएको मान्न सकिन्न। उनको भूमिका र योगदान जुन पक्षलाई अगाडि बढाउने र जुन कुराको सुधार हुनुपर्छ भन्ने थियो, तिनलाई किनारमा राखेर उनको मात्र जयजयकार गरेर उनको सफलता हासिल गरेको भनेर खुसीयाली मनाउन हुँदैन। योगमायाको आन्दोलन, उनको उद्देश्य र उनको योगदान र भूमिकाको सम्मानका लागि उनलाई खोपीको देउता बनाएर पुजा होइन, उनी हिँडेको बाटो हिँड्न सक्नुपर्छ।

योगमायाबारेमा २०५० सालयता प्रकाशित केही कृति यस प्रकार छन्-
- सामाजिक आन्दोलनकी अग्रणी तथा कवि योगमाया-लेख संकलन/प्रकाशक नेपाल अध्ययन केन्द्र
- नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी- मातृका तिम्सिना
- समाज सुधारक योगमाया -डा. गोविन्दमानसिंह कार्की
- बहुमुखी व्यक्तित्वकी धनी योगमाया - लेख संकलन/प्रकाशक नेपाल स्रष्टा समाज
- योगमाया शक्तिपीठ तपोभूमि -कविता चापागाईं
- अमर ज्योति योगमाया -डा दिपेश न्यौपाने
- योगमाया -नीलम कार्की/उपन्यास
- योगमाया र उनको अदम्य साहस -बमबहादुर थापा
- श्री सर्वार्थ योगवाणी ( योगमाया नेउपाने/प्रकाशक अस्मिता प्रकाशन
- सामाजिक जागरणमा महिला विद्रोहको प्रस्थान विन्दु -लेखनाथ भण्डारी
- योगमाया र उनका वाणीहरू -प्रकाशक चन्द्रबहादुर बस्नेत
- Heir to a Silent Song : Two Rebel Women of Nepal- बारबरा निम्री
- सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया-निनु चापागाईं

यसअघि २०१४ सालमा सन्त सामाज दिङला र डम्बरबहादुर बस्नेतलगायतले पनि योगमायारचित वा वाचित श्री सर्वार्थ योगवाणी प्रकाशित गरेको पाइन्छ। श्री सर्वार्थ योगवाणी योगमायाका प्रवचन सुनेर उनकी छोरी नैनकलाले पुनः वाचन गर्ने क्रममा १९८८ सालमा योगमायाका भक्त सहयोगी वा सल्लाहकार पण्डित प्रेमनारायण भण्डारीले लिपिबद्ध गरेर प्रकाशन गर्न सुरु गरिएको थियो।

उल्लेख कृतिका अतिरिक्त दर्जनौं फुटकर लेखहरू पनि सार्वजनिक भएका छन्। यी सबै कृतिमा योगमायाका प्रवचन अर्थात् उनले उठाएका मागलाई लिपिबद्ध गरेर तत्कालीन समयमा प्रकाशित गरिएको ‘ श्री सर्वार्थ योगवाणी’ को पुनर्मुद्रण र विश्लेषण गरिएका छन्। उनका वाणीहरू जातपातको भेदभाव, धनी र गरिबबीचको असमानता, साहुमहाजनको थिचेमिचो, महिलामाथिको असमानता, राजा-महाराजाहरूको लापारबाही, कर्मचारीहरूको ढिलासुस्ती, घुसखोरीका विरुद्ध लक्ष्यित छन्। यहाँ उल्लेख उनका वाणीका यी पंक्तिले पनि उनको विद्रोहको उद्देश्य र दृष्टिकोण पुष्टि गर्छन् (

महा राज् छन् दर्बारमा हेर्न आउँदैननदुःखि जनले निञा निसाफ् सिधा पाउँदैनन्। जागिरदार लोभि छन् निञा हेर्दैननमर्नु पर्ने शरिर हो विचार गर्दैनन्।अन्नपुर्णपोष्टबाट 

प्रतिकृया दिनुहोस