उठ ! जाग ! बज्राचार्य !!
"जात हराए तेमाल जानु धर्म हराए बाँडाकोमा जानू !! तामाङ समुदायमा यो उखान धेरै चलनचल्तीमा थियो, यो उखान सुन्दा अहिलेको नयाँ पिढी हरुलाई अनौठो लाग्ला तर यो उखानमा धेरै ऐतिहासिक कुराहरू लुकेको छ, अहिले त अप्रासंगिक पनि लाग्ला कतिलाई अपत्यारिलो पनि ! किनकि पुरानो पिढिको ज्ञान् सीप हस्तान्तरण गर्ने ग्रहण गर्ने बाट हामी धेरै टाढा पुगिसकेका छौं, अब त सानै देखि मोबाइलमा पब्जी खेल्ने टिकटक गेम खेल्ने युगमा आएको छौं यस्तोमा आफ्नो सांस्कृतिक बिरासतको कुरा गर्नु भनेको बुजुर्वा बर्गको बिल्ला भिर्नु पर्ने पो हुन्छ।
अहिले तिब्बती ठुल ठुला रेम्पुर्छे हरुले प्रत्येक प्रवचनमा भन्नुहुन्छ यो ज्ञान् तपाईंहरूको पू्र्खाहरुको हो, हामीले त जोगाएर मात्रै राखेको हो यो हस्तान्तरण गर्न पाउदा हामीलाई धेरै खुशी लाग्छ भनेर भन्नुहुन्छ, यो तिब्बती रेम्पुर्छेहरुको उद्गार र हाम्रो तामाङहरुको उखानको सार एउटै हो !
बौद्ध धर्ममा बज्रयान धर्मको शुत्रपात भारतमा भए पनि त्यसको बिकास र फैलावट नेपाल मण्डल बाट भएको हो, काठमाडौ उपत्यका बज्रयान धर्मको मुख्य केन्द्रविन्दु राजधानी नै हो, र अहिलेको बज्राचार्यहरु यसको मुख्य अभियान्ता हुन्, बज्र + चार्य बाट बज्राचार्य भएको हो अर्थात बज्रयानको आचार्य ! त्यसैले बज्रयानमा आचार्य गर्नेहरूको बिशिस्ट आचार्य पद हो, हिन्दुमा पनि गुरुकुल बाट दिइने आचार्य - उपाध्याय शैक्षिक उपाधी लाई अहिले आएर थरमा जातिमा रुपान्तरण भए जस्तै यता पनि बज्रयानको आचार्यलाई बज्राचार्य थरमा अथवा जातिमा रुपान्तरण हुँदै गएको मात्रै हो।
नेवारी बज्रयान भित्र तन्त्रविद्या कर्मकाण्ड गर्नेलाई गुभाजु भनिन्छ गु+भाजु अर्थात् भाजुको अर्थ आदरार्थी सब्द हो जुन महोदय हुन्छ, गुरु महोदय भनेको हो भने "बाँडा" साक्य थर बाट आउँछ यो पनि बुद्ध धर्ममा प्रवजित भएर एउटा तह प्राप्त गरेपछि पाउने साक्य "पद" नै हो, पुजामा आवश्यक पर्ने हस्तकला सामाग्री तयार गर्नेलाई बाँडा भनिन्छ यि सबै बज्राचार्य र साक्य कै एकै अंगहरु हुन्।
बज्रयान धर्मको मुख्य बिज हो बज्राचार्य, यहीँबाट बज्रयान धर्म तिब्बत हुँदै मंगोलिया देखि रसीयाको केहि भूभाग सम्म फैलिएको थियो, भारतवर्ष बाट आएर हिमाली भूभागमा दोस्रो बुद्धको रूपमा पुजिने गुरु रेम्पुर्छेले पनि यहीँ पाटनको हुँकार बज्र बाट तन्त्रविद्याको दीक्षा लिएर तिब्बतमा बौद्ध धर्म प्रचारप्रसार गर्न पुग्नु भएको थियो, त्यति मात्रै होइन अहिले तिब्बतको बिश्व प्रसिद्ध प्राचीन पोताला दरबारको निर्माणकार्य पनि बज्राचार्य आर्कीटेक्चर हरु नै लगेर बनाएको हुन् भने अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण हुने कलात्मक तिब्बती थाँङ्का यहीँबाट लगेको पौवा चित्र कलाको तिब्बती रुप हुन, कुनै बेला नेपाल मण्डलको बज्राचार्यहरु नैरात्मा डाकिनी हरुको तन्त्रविद्यामा सिद्धी प्राप्त गरेको हुन्थे,यस्तो थुप्रै गुभाजु हरुको किवदन्तीमा इतिहासमा उल्लेख भएको पाइन्छ, त्यसमध्ये चर्चित हुन जाःमन गुभाजु, उनको बारेमा अहिले एउटा वृत्तचित्र पनि निर्माण भएको छ, १७ औं शताब्दी तिर राजा जयप्रकाश मल्ल संग मिलेर राज्यमा भइ परी आउने अनिष्ट हटाउन तान्त्रिक गुभाजुको सहारा लिनेे गरिन्थ्यो उनको बारेमा धेरै किवदन्ती हरु प्रचलित छन्, राजा गुणकाम देवको पालामा कान्तिपुरमा धेरै चोरी डकैती अराजकता भएपछि गुभाजु लाई बोलाएर यो अनिष्ट रोक्न आग्रह गरेपछि गुभाजुले दैवी शक्ति द्वार मात्रै सम्भावना हुने देखेर कामक्ष पुगेर दैवी शक्ति लिएर आएको कथा पनि छ जुन भद्रकाली मन्दिर संग जोडिएको कथा अलिक लामो छ त्यतातिर कुनै दिन चर्चा गरौंला, त्यस्तै गोर्खाको राजा पृथ्वीनारायण शाहले पनि तान्त्रिक गुभाजुको सहयोग लिएको छ, पश्चिमको लडाइँ रोक्ने काममा ज्ञानकार बाँडा (नेवार)लाई खटाएका थिए र बाँडाले इन्द्रायणीको तीरमा गएर अनुष्ठान गरेका थिए (ज्ञानमणि नेपाल, नेपाल निरुपण, पृ. २०७) (धेरै छ गुभाजु + बज्राचार्य + बाँडा बारेमा अहिले लाई यहीँ थाती राखें)
अहिलेको अवस्था !!
यिनै बज्रयान धर्म फैलाउने बज्राचार्यको सन्तति हरु अहिले ठमेलमा बसेर बिदेशी लाई ओरिजिनल तिब्बती थाङ्का भन्दै बिक्री गरेर जिविका चलाउन परेको छ भने आफ्नो ऐतिहासिक मुल पौवा चित्र चाहिँ भित्तामा मात्रै सिमित !
एकजना महेश्वर लाल श्रेष्ठ भन्ने दाजुले अस्ति फेसबुकमा एउटा पोस्ट गरेको रहेछ, यति वटा गुम्बा बन्यो उति वटा मन्दिर बन्यो भन्ने सुनिन्छ तर अहिलेसम्म नेवार हरुको एउटा बिहार बन्यो भनेको सुनिन्न भनेर एउटा पोस्ट गरेको रहेछ !
त्यहाँ कमेन्टमा चाहिँ धेरैले भएको बिहार पनि जिर्णोद्वार गर्न नसकेर भत्किने अवस्थामा छ नयाँको त कुरै नगरौं भन्ने प्रतिक्रिया लेखेको थियो।
यो दुईवटा प्रसंगले समग्र नेवारी समुदाय भित्र बज्राचार्य र बज्रयानको अवस्था कस्तो अवस्था बाट गुज्रिरहेको छ भनेर बुझ्न पर्याप्त होला ! जबकि बिश्वमा अहिले सबैभन्दा बढी फैलिरहेको बुद्दिजम भनेको बज्रयान बौद्ध हुन् तर यिनै बज्रयानको मुल केन्द्रविन्दुको हालत यस्तो छ !
यसो हुनुको मुख्य कारण मध्ये बज्राचार्य हरुमा जातीय संकीर्ण मानसिकता बाट माथि उक्सिन नसक्नु हो, यही जातीय संकीर्ण मानसिकता लाई भड्काएर आफ्नो दुनो सोझ्याउन नेताहरूले भरपुर राजनीतिक फाइदा लिइरहेको पनि छ, जबसम्म जातीय संकीर्ण मानसिकता बाट माथि उठेर सिंगो नेपाल पनि छ भनेर हेर्न सक्दैन तबसम्म बज्राचार्यहरु सानु परिधिभित्र मात्रै सिमित भैरहनेमा कुनै शंका छैन।
यही बज्राचार्य बाट तिब्बती साधकहरुले अभिषेक नेवारीमा दे: ख लिएर तिब्बतीहरुले बिश्व बजारमा गएर वाङ (अभिषेक) दीक्षा दिँदै बज्रयान बौद्ध फैलाउदै छ भने कुनै बेला तिब्बतीलाई दे:ख दिने बज्राचार्यहरु आफ्नो स्वजातिय नेवारमा मात्रै "दे:ख" दिएर खुम्चिएर बस्नु परेको छ , हामीले बज्रयान बारेमा जान्न बुझ्न खोज्यौं भने पनि त्यति सर्वसुलभ छैन कि त तिब्बती कि त संस्कृत ग्रन्थ खोज्नुपर्छ अधिकांश बज्रयान सम्बन्धि पुस्तकालय हरुमा गएर खोजी गर्दा पनि नेवारी भाषामा लेखिएको मात्रै भेटिन्छ भने श्रव्य दृश्यहरु पनि नेवारीमा मात्रै उपलब्ध हुन्छ, मातृभाषा लाई समृद्धि तुल्याउनु राम्रो हो तर त्यहीँ खुम्चिनु भनेको अर्को कुरा हो ! र अहिले त्यही खुम्चिएर बस्नुको कारणले आज बज्राचार्य सिर्फ काठमाडौ उपत्यका भित्र एउटा जातीय पुजारीको रूपमा मात्रै चिनिएर बस्नु परेको छ।
नेपालमा २००७ सालको राजनीतिक परिवर्तन पछी यहाँको मौलिक नेवारी बज्रयान परम्परा माथि देशीविदेशी विभिन्न कोण बाट आक्रमणको शिकार भैरहेको थियो अहिले त्यो झन् बढ्दै गएको छ यदि यो अझै बढ्दै गयो भने अबको केही दसकमा हामीले गुभाजु बज्राचार्य लाई इतिहासको पानामा मात्रै देख्न पर्ने हुन्छ।
कसरी भैरहेको छ कुन रूपमा भैरहेको छ म यहाँनेर कसैलाई औंल्याउन त चाहन्न तर नियोजित रूपमा करोडौं रुपैयाँ वैदेशिक सहयोगको रूपमा नेवारी मौलिक बौद्ध परम्परा बिपरित दिशामा लैजान नेवारकै खातामा ओइरो लाग्दै छ बुझ्ने लाई इसारा काफी……चेतना भया !!
प्रतिकृया दिनुहोस