चेपाङले न्वागी पर्व मनाए

चितवन । घरमा अन्न भित्राएपछि पितृलाई चढाउन पर्छ भन्ने चेपाङ समुदायमा परम्परा छ। पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खाए पितृ र कुल रिसाएर अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास छ। 

घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाइन्छ। चेपाङका  झाँक्री (पान्दे)ले ढ्यांग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। नयाँ अन्न खान सुरु गर्ने दिनका रूपमा चेपाङ जातिले न्वागी पर्व मनाएका छन्। नयाँ अन्नबाली पितृलाई नचढाई खाए परिवारका सदस्य बिरामी हुने विश्वास राख्छन्। 
यसरी विधिपूर्वक पूजाआजा गर्दै पितृलाई अन्न चढाएपछि मात्रै उनीहरूले खान्छन्। न्वागी चेपाङ समुदायको राष्ट्रिय पर्व  हो। ‘चेपाङ संस्कृतिमा नचढाएसम्म धुप नहालेसम्म खान पाउँदैनौ। आज धुप चढाएपछि मात्रै खाने हो ,’ चेपाङका झाक्री (पान्दे ) अमृतलाल चेपाङले भने, ‘ढ्यांग्रो ठोकेर न्वागी फलाकेर  हरेक वर्ष हामीले पूजा गर्दै आएका छौं।’

चेपाङ समुदायको झाँक्री, पण्डितलाई ‘पान्दे’ भन्ने चलन छ। पान्देले एकपाखे ढ्यांग्रो ठोक्दै पितृ बोलाउने धार्मिक मान्यता छ। रोगबाट मुक्त बनाएर पारिवारिक सुखको कामना गर्दै न्वागी मनाउँछन्। चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा चिनिएको अर्का पान्दे  इन्द्रलाल चेपाङले बताए। ‘अब्जाएको अन्नलाई पितृ पूजा गर्छौ। पूजा गरेर चढाएपछि खानलाई फुकुवा भएको छ ,’ उनले भने , ‘हाम्रो कुललाई पुजेर अन्न चढाएका हौ।’
पछिल्लो समय धर्म परिवर्तनका कारण न्वागी मनाउने चेपाङको संख्या कम हुँदै गएको छ।  चेपाङ बालबालिकालाई उनीहरूको धर्म संस्कृति सिकाउन शनिवार रत्ननगर ११ स्थित मंगलपुरमा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रमा चेपाङले न्वागी मनाएका हुन्।  धर्म परिवर्तनले चेपाङको धर्म संस्कृति संकटमा पर्दै गएको चेपाङ अभियन्ता केपीकिरण शर्माले बताए। ‘चेपाङहरूले धर्म परिवर्तन गरेपछि आफ्नै संस्कृति हराउन थालेको छ। न्वागी चेपाङको लागी राष्ट्रिय पर्व नै हो,’ शर्माले भने , ‘पर्व मनाउँदै बालबालिकालाई उनीहरुको धर्म संस्कृति चिनाउन र संरक्षणका लागी  हामीले केन्द्रमा न्वागी मनाएका हौं।’ 

जन्मदेखि मृत्युसम्मको संस्कारमा  भूमिसँग सम्बन्धित छ। पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमि पूजा गर्छन्। छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्। सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ जनाको बसोबास छ।: अन्नपूर्ण पोष्ट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...