किन बढ्दै छ बालबालिकामा मानसिक समस्या ?

काठमाडौं । जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्। बालबालिकाप्रति समयमै अभिभावकको ध्यान पुग्न नसके पछि गएर थप जटिल समस्या देखिने चिकित्सक बताउँछन्।

हालै कान्ति बाल अस्पतालमा उपचारका लागि पुगेकी काठमाडौंकी १४ वर्षीया गौरी श्रेष्ठ –(नाम, थर परिवर्तन) मा एकाग्र हुन नसक्ने, स्कुल जान नमान्ने, स्कुलमा बेहोस हुने, स्कुल जाने बेला पेट दुख्ने जस्ता समस्या देखिए। यी समस्या एकदुई दिन नभएर महिनौंसम्म देखिए। अभिभावकले उनलाई कान्ति बाल अस्पताल पु¥याए। उपचारका क्रममा उनमा ‘एन्जाइटी डिअसर्डर’ भएको पत्ता लाग्यो। अहिले उनले चिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेकी छन्।

चितवनका ७ वर्षीय सुविन शर्मा (नाम, थर परिवर्तन) लाई पनि असमान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि सोमबार कान्ति बाल अस्पताल ल्याइयो। कसैलाई देख्यो कि जे भेट्यो त्यसैले पिट्ने, स्कुल गए साथीभाइलार्ई पिट्ने, कक्षामा नबस्ने, साथीभाइको सामान चोर्ने, खाजा खोसेर खाइदिने, चकचक गरिरहने जस्ता समस्या लामो समयसम्म देखिएपछि उनलाई उपचारका लागि अभिभावकले अस्पताल ल्याएका हुन्। उपचारका क्रममा उनमा एडिएचडी (एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) समस्या भएको पत्ता लाग्योे।

यी दुई प्रतिनिधि पात्र मात्र हुन्। मानसिक समस्या देखापरेपछि कान्ति बाल अस्पतालमा दैनिक सरदर ३० देखि ५० जना उपचारका लागि आउँछन्। मानसिक समस्या लिएर अस्पताल आउने बालबालिकाको संंख्या बर्सेनि बढ्दै गएको कान्ति बाल अस्पतालका बाल मानसिक रोग विशेषज्ञ डा. अरूण कुँवर बताउँछन्। उनका अनुसार सन् २०१५ मा यो अस्पतालको बहिरंंग विभागमा मानसिक समस्याका ६ सय जना बिरामीले उपचार गराएका थिए। यो संख्या सन् २०२३ मा आउँदा १२ हजार पुगेको तथ्यांक छ।

पछिल्लो समयमा बालबालिकामा विभिन्न खालका मानसिक समस्या र रोग देखिने गरेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्मा बताउँछन्। उनले बदलिँदो जीवनशैलीसँगै बालबालिका जोखिममा पर्दै गएको बताए। समाजमा पहिला पनि बालबालिकामा हुने मानसिक समस्या यही रूपमा थियो वा अहिले बढ्यो भन्ने विषयमा ठ्याक्कै तुलना गर्न भने नसकिने डा. कुँवर बताउँछन। तर अहिले उपचारमा आउने बालबालिकाको संख्या हेर्दा यो समस्याले धेरैलाई छोएको देखिन्छ। मानसिक समस्या भएका तर अस्पतालको पहुँचमा आउन नसकेका बालबालिको संख्या पनि धेरै रहेको उनी बताउँछन। उनका अनुसार ७ लाख बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक समस्या, रोग छ । मानसिक समस्याका कारण कतिपयले आत्महत्याको बाटोसम्म रोज्ने गरेको कुँवर बताउँछन्। ‘पछिल्ल्लो समय बालबालिकामा आत्महत्याकोे समस्या पनि बढेको छ,’ उनले भने।

चिकित्सकका अनुसार बालबालिका एडिएचडी (एकाग्र नहुने, असमान्य व्यवहार गर्ने), एन्जाइटी (आत्तिने), डिपे्रसन जस्ता समस्या बढी देखिन थालेका छन्। चिकित्सकका अनुसार पछिल्लो समय ग्रामीण सरल जीवन शैली छाडेर सहरी जीवनशैली अगाल्नुु, अभिभावकले सन्तानलाई पर्याप्त समय दिन नसक्नुु, शारीरिक व्यायम नगर्नु, घरभित्रै गुम्सिएर बस्ने, परिवारमा भावना साट्ने व्यक्तिको कमी हुनु जस्ता कारणले पनि बालबालिकामा मानसिक समस्या र रोग निम्तिने गरेको देखिन्छ।

अभिभावक तथा समाजले बालबालिकाबाट सफलताको बढी अपेक्षा राख्नु, प्रतिस्पर्धी जीवनशैली, व्यस्त दैनिकी, पारिवारिक बेमेल जस्ता कारणले पनि बालबालिकामा मानसिक समस्या बढेको देखिन्छ। अभिभावकले लामो समयसम्म अरूको भरमा छाडेर हिँड्दा पनि बालबालिकामा नकारात्मक असर पर्न गएको छ। त्यस्तै नजिककै व्यक्तिबाट असुुरक्षित भएका बालबालिमामा पनि विभिन्न खालको मानसिक समस्या देखिने गरेको डा. शर्मा बताउँछन्। बदलिँदो परिवेशअनुसार महवाकांक्षा पूरा नहुँदा पनि बालबालिकामा तनाव बढेको कुँवर बताउँछन्।

समयमै अभिभावकको ध्यान पुग्न नसके बालबालिका पछि गएर अपराधमा संलग्न हुने खतरा रहेको डा. शर्मा बताउँछन्। जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती गलत पोषणको कमीले पनि मनोसमस्या निम्तिने बताउँछिन्। उनका अनुसार कुपोषित बालबालिकाले मस्तिष्कमा अक्सिजनको कमी हुँदा सिकाएको कुरा ग्रहण गर्न सक्दैनन्। ‘अमेरिकामा अहिले धेरैै बच्चाहरूमा एडिएचडी बढी देखिन्छ,’ उनले भनिन्। नागरिक दैनिक 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्...