हरियो रङमै चल्ने भयो ‘ब्लु बस’,
काठमाडौँ। महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले साझा यातायात मार्फत ‘ब्लु बस’ सञ्चालनको तयारी गरे पनि सेवा सुरुवातमा केही ढिला हुने देखिएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन अर्थात साउन १ गते देखि सञ्चालन गर्ने भने पनि तयारी नपुग्दा सञ्चालनमा ढिलाइ हुने भएको हो । साझा यातायातको हरियो बसलाई रङ परिवर्तन गरेर ब्लु बस सञ्चालन गर्ने भनिए पनि सर्वत्र आलोचनापछि सरकार निलो रङ राख्ने निर्णयबाट 'ब्याक' भएको छ ।साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारेर चर्चा चलाइएको बताए ।उनले सरकारले ‘ब्लु बस’ सञ्चालनका लागि साझा बसको रङ परिवर्तन नगरिने स्पष्ट पारे । उनले भने, ‘साझाको आफ्नै मौलिक ब्रान्ड छ । त्यसलाई परिवर्तन गरेर बसको रङ फेर्ने योजना छैन । महिलाका लागि छुट्टै सेवाको पहिचान गराउन बसमा स्टिकर वा अन्य दृश्यात्मक चिह्न प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ ।’६४ वर्षको इतिहास बोकेको साझाको आफ्नै ब्राण्ड र रङ भएकाले त्यसलाई नबिगारी साङ्केतिक रूपमा ‘ब्लु बस’ लेखिने वा केही निलो रङको प्रयोग गरेर पहिचान दिइने तयारी रहेको अर्यालको भनाइ छ । पटक–पटक रङ फेर्दा जनमानसमा नराम्रो सन्देश जाने साझाले जनाएको छ ।
‘ब्लु बस’ नामले सेवा अवधारणालाई मात्र जनाउने भएकाले बसको रङ परिवर्तन गर्ने कुनै योजना नरहेको अर्यालले प्रस्ट पारे । महिलामैत्री सेवालाई सहज रूपमा चिनाउन स्टिकर, ब्यानर वा अन्य दृश्यात्मक माध्यम प्रयोग हुन सक्ने भए पनि हरियो रङ फेरेर निलो बनाउने सरकारको योजना नरहेको उनले बताए ।
अर्यालका अनुसार सरकारले साउन १ गतेदेखि काठमाडौँमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने चर्चा गरे पनि बजेट र कार्यविधिको सुनिश्चितता नभएसम्म तत्कालै सेवा सुरु हुने अवस्था छैन । उनले साउन १ गते नै बस सञ्चालन हुने सम्भावना नरहेको स्पष्ट पारे ।
अर्यालका अनुसार, साझा यातायात र सरकारबिच अहिलेसम्म आधिकारिक सम्झौता भएको छैन । सम्झौता भएपछि मात्रै सञ्चालन हुने उनले बताए । ‘अझै बजेटको सुनिश्चितता र कार्यविधि बन्न बाँकी छ । सञ्चालन खर्च प्राप्त नभएसम्म र आधिकारिक पत्र नआएसम्म सञ्चालन हुँदैन,' अर्यालले भने, ‘दुई महिना सेवा दिएर बजेट अभावका कारण तेस्रो महिनामा सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसले संस्थाको ६४ वर्ष पुरानो साखमा धक्का पुग्छ । त्यसैले सेवा सुरु गर्नुअघि त्यसको निरन्तरताका लागि सरकारसँग सम्झौता गरेरमात्रै अघि बढ्छौँ ।’
सरकारले साउन १ गतेदेखि साझाका २६ सिट क्षमताका आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालनमा ल्याउने योजना अघि सारेको थियो, तर तयारी नपुगेकाले सञ्चालनको समय र बसको अन्तिम सङ्ख्या भने अझै टुङ्गो लागिनसकेको उनले बताए ।
बजेट र दिगोपनको चुनौती
निःशुल्क सेवा सञ्चालनका लागि सरकारले सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने साझाको माग छ । विद्युतीय बस सञ्चालन गर्दा दैनिक १० देखि १२ हजार रुपैयाँ र डिजेल बसको हकमा १५ देखि १६ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।
प्रारम्भिक योजनाअनुसार उपत्यकामा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा, नागढुंगा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड)मा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ । चक्रपथमा चल्ने चारमध्ये दुई वटा बस कोटेश्वर–गौशाला–कलङ्की रुटमा तथा अन्य दुई वटा कोटेश्वर–सातदोबाटो–कलङ्की रुटमा सञ्चालन गर्ने योजना छ ।
सरकारले २०८२ साल चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ‘ब्लु बस’ सेवा समावेश थियो ।
सोही कार्यसूचीअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लु बस’ सेवा सञ्चालन गरिने घोषणा गरेका थिए।https://www.ratopati.com/story/576731/blue-bus








प्रतिकृया दिनुहोस