सुरु भयो जनकपुरमा विवाहपञ्चमी महोत्सव

धनुषा,१६, मङ्सिर  । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आइतबारदेखि विधिवत सुरू भएको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन मंसिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।
नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्रांगणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए।
त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ। महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छ ।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण   गरिएको छ ।
आउँदो शुक्रबार जनकपुरधाममा हुने विवाहपञ्चमीका लागि अयोध्याबाट जन्ती हिँडिसकेको छ भने सोमबार जन्ती मुख्य प्रवेशद्वार मटिहानी नगरपालिकाको सीमामा प्रवेश गर्नेछन् । कतिपय साधु, सन्त, महात्मा र अन्य जन्ती जिल्ला सदरमुकाम जलेश्वरको बाटो भएर पनि नेपाल प्रवेश गर्नेछन् । 

जन्ती सबैभन्दा पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ भने जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन छ । 

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउँदै आएका छन् । विवाहपञ्चमीको अवसरमा प्रत्येक पाँच वर्षमा जनकपुर धाममा आठदेखि १० लाखसम्म भक्तजन विवाहपञ्चमी उत्सवमा सहभागिता जनाउने गर्दछन् ।



प्रतिकृया दिनुहोस