चितवनमा रगत अभाव, रक्तदान गरिदिन रेडक्रसको अपिल

चितवन । चितवनमा रगतको अभाव भएको छ । चाडपर्वले गर्दा रक्तदान कार्यक्रममा कमीआएसँगै जिल्लामा रगत अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले बुधबार एक अपिल प्रकाशित गरी माग अनुसार रगत आपूर्ति गर्न कठिनाई भएकाले रक्तदान कार्यक्रम गर्न अपिल गरेको हो । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भनिएको छ “रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभावहरु, रक्तदान कार्यक्रम आयोजना गर्ने संघ संस्थाहरु, रक्तदाता अभियान्ताहरु, रेडक्रसकर्मीहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।”

अपिलमा इच्छुक रक्तदाताले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, लगायत मातहतका रक्तसञ्चार युनिटहरुमा आई रक्तदान गरी सहयोग गरिदिन समेत अनुरोध गरिएको छ । रेडक्रसका चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल र रत्ननगरमा रक्तसञ्चार युनिट रहेका छन् भने बघौडा अस्पतालमा इकाई रहेको छ । ती युनिट र इकाइमा व्यक्तिगत रुपमा गएर पनि रक्तदान गर्न सकिन्छ ।

यतिबेला डेंगु लगायतका रोगका बिरामीको संख्या अस्पतालहरुमा धेरै रहेका छन् । नियमित र आकस्मिक शल्यक्रिया, डाइलासिस गर्नुपर्ने बिरामीलाई रगतको अधिक माग हुने गर्दछ ।

प्रतिकृया दिनुहोस