चितवनमा पशुबलि निषेध गर्न शाकाहारी अभियान
भरतपुर । चितवनमा पशुबलि निषेध गर्न शाकाहारी अभियान चलाइएको छ । अभियानको पहिलो दिन शनिबार चौबिसकोठीमा सचेतना ¥यालीसहितको कार्यक्रम गरिएको छ ।
चितवन जिल्लाका श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद्, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिले दसैँको मुखमा पशुबलि निषेध गर्न शाकाहारी अभियान चलाएका हुन् । श्रीकृष्ण प्रणामी युवा परिषद् चितवनका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा वक्ताहरुले शाकाहारी अभिायानलाई सार्थक तुल्याउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय समितिका अध्यक्ष जगदिशचन्द्र शर्माले नेपालका सम्पूर्ण मठमन्दिरहरुमा पशुबलि अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘शाकाहारी भोजन स्वास्थ्यको लागि हितकर छ, कुनै पनि शास्त्रमा बलि दिनुपर्छ भनेर लेखिएको छैन, अरुको हत्या गरेर त्यसको मासु खानु महापाप हो ।’ उनले पशुहिंसारहित समाजको परिकल्पना गर्नुपर्ने बताए ।
कार्यक्रम संयोजक तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रास श्रीकृष्ण कृपाधाम देवघाटका अध्यक्ष ईश्वरचन्द्र पौड्यालले पशुबलि निषेध गर्न सबै लाग्नुपर्ने बताए । उनले भने, ‘भारतको तुलनामा नेपालमा पशुबलि बढी हुन्छ, नेपालका सबै धार्मिक क्षेत्रहरुमा पशुबलि अन्त्य गरिनुपर्छ ।’
कार्यक्रममा विशिष्ट अतिथिहरुमा कृष्ण प्रणामी धर्म प्रचारक प्रभुदर्शन तिमिल्सिना, बह्माकुमारी राजयोग केन्द्र नारायणगढकी रीता दिदी, कृष्ण प्रमाणी सेवा समिति नेपालका केन्द्रीय सदस्य कमलकृष्ण खनाल, एनिमल राइट्स् क्लब चितवनकी सुुधा तिमिल्सिनालगायतले पशुबलि निषेध गर्न जोड दिएका थिए । श्रीकृष्ण प्रणामी युवा परिषद् चितवनका सचिव केशव बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
सचतेना कार्यक्रममा चितवनका प्रणामी समुदायका, ओश शान्ति सर्कलका र शाकाहारी भोजनलाई आत्मसाथ गरेका झन्डै पाँच सय नागरिकको सहभागिता रहेको थियो ।: Chitwan post
प्रतिकृया दिनुहोस