यसकारण बालबालिकाहरूलाई दैनिक खुवाउनुहोस् अण्डा

काठमाडौँ । अण्डा पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मन पर्छ ।

कतिलाई भने अण्डा आधा पाकेको मन पर्छ । यसको सेवनले जुनसुकै उमेरका व्यक्तिहरू बालक,वृद्ध र वयस्क सबैलाई स्वास्थ्य लाभ मिल्छ ।

एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ । ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो ।

उसिनेको, फ्राई गरिएको वा अम्लेट बनाएर खाइने अन्डाले कलिला बालबालिकालाई शक्ति दिन्छ । पेडिएट्रिक्स नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सरल विधि भएको उल्लेख गरिएको छ ।

शिशुहरूको पहिलो दुई वर्ष उनीहरूको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यस बेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ ।

अनुसन्धानका लागि छनोट गरिएका एक सय ६० जना शिशुमध्ये केहीलाई ६ महिनासम्म दैनिक एउटा अन्डा खान दिइएको थियो र उनीहरूको तुलना अन्डा नदिइएका अरू शिशुहरूसँग गरिएको थियो ।

अध्ययन सकिँदासम्म अन्डा खाने शिशुहरूमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरूको दाबी छ । अनुसन्धान शुरु गर्दाको बेला अन्डा खान छनौट गरिएका धेरै शिशुमा उनीहरूको उमेर अनुसारको उपयुक्त उचाइ थिएन ।

सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा हो । अन्डामा विभिन्न पोषण तत्त्वहरूको मिश्रण हुन्छ, त्यही भएर यो निकै महत्त्वपूर्ण छ ।

यसकारण तपाई पनि आफ्नो बच्चालाई होचोपनको समस्याबाट बचाउन चाहनुहुन्छ भने नियमित अण्डाको सेवन गराउनुहोस् । 

प्रतिकृया दिनुहोस