‘आँखा उपचार केन्द्र’को सञ्जाल विस्तारगर्दै भरतपुर आँखा अस्पताल

चितवन । पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

भरतपुर आँखा अस्पताल बाहेक अन्य दुई सेकेण्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८ आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन् ।

संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ । नवलपरासी (सुस्ता बर्दघाट पूर्व) को हुप्सिकोट, मध्यविन्दु, बौदिकाली, गैंडाकोटमा केन्द्र छन् । कावासोतीमा सेकेण्डरी अस्पताल सञ्चालित छ ।

धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको ईश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन् भने पर्साको ठोरीमा सेकेण्डरी अस्पताल छ ।

संघका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लगिएको बताए । अधिकांश केन्द्र र अस्पतालका प्रमुख पालिकाका प्रमुख एवं अध्यक्ष रहेको व्यवस्था गरिएका छन् । स्थानीयहरुको आँखा उपचार केन्द्र सहयोग समितिले केन्द्रको रेखदेख गर्दै आएको छ । स्थानीय पालिकाको सहकार्यमा अधिकांश केन्द्र सञ्चालन गरिएको छ ।

सेकेण्डरी अस्पतालमा चिकित्सक हुन्छन् भने केन्द्रहरुमा नेत्र सहायकले सेवा प्रदान गर्दछन् । दुईदेखि तीन जनाको टिमले केन्द्र सञ्चालन गर्दछ । जटिल समस्या आएमा टेलिमिडिसिन मार्फत् विशेषज्ञ चिकित्सकसँग परामर्श लिने व्यवस्था सबै केन्द्रमा छ । यसबाट पनि समाधान नभएमा बिरामीलाई मुख्य अस्पताल पठाउने गरिन्छ । मध्यम अवस्था रहेमा नजिकको अस्पतालमा पठाउने गरिन्छ ।

मुख्य अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक, ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायक सहितको टिमले उपचार दिंदै आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यहाँ कार्यरत चिकित्सकहरुले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप समेत गरेका छन् । अस्पतालले नै दुई जनालाई ‘फेलोसिप’ अध्यापन गराउँदैछ ।

अस्पतालका मेडिकल निर्देशक डा।पुष्पा गिरी श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरु यहाँ आँखामा एमडि तहको अध्ययन गर्दछन् । यसका अतिरिक्त अन्य संस्थाहरुले पनि अध्ययनका लागि यहाँ पठाउने गर्दछन् । हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान मार्फत् शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । नेत्र सहायक अध्यापन हुने गर्दछ ।

अस्पतालले चितवन र छिमेकी जिल्लाहरुमा शिविरहरु मार्फत् सेवा दिंदै आएको छ । निर्देशक डा गिरीका अनुसार हरेक वर्ष १२÷१३ जिल्लामा शिविर मार्फत् सेवा दिने गरिएको छ । अस्पतालले आँखा बैंक स्थापना गर्ने तयारी गरेको छ । भीराज उषामाया पाठक आँखा बैंक नाम दिइएको छ । अहिले नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन् ।

२७ जनाको नानी संकलन गरेर पठाईएको छ भने १३१ जनाको यहाँ नानी मगाएर प्रत्यारोपण गरिएको निर्देशक डा गिरीले जानकारी दिए । उनले भने,“मानव अंगको महत्वपूर्ण अंग आँखा हो । अन्धोपना हुनु जीवनका लागि निकै कठिन हुन्छ । समयमा उपचार पाएमा अन्धोपना हुनबाट जोगाउन सकिन्छ । ”

अन्धोपन हुनबाट जोगाउँदै

अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए ।

आँखा उपचार केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो ।

सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ ।

अस्पतालमा देशका विभिन्न भूभागसँगै भारतबाट समेत बिरामी आउने गर्दछन् । स्वयंसेविहरुको संस्था भएकाले न्यून शुल्कमा उपचार हुने गर्दछ । सरकारी र गैरसरकारी संघ संस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने भएकाले अस्पताल सञ्चालन गर्न कठिनाईका बाबजुद सहज बनेको संघका सचिव केशव अधिकारीले बताए । उनले भने, “अस्पताल आउने बिरामी आर्थिक अभावका कारण फर्किनु पर्दैन ।” स्वास्थ्य बीमा कार्यान्वयन भएकाले बिरामीलाई सहज हुने गरेको सचिव अधिकारीको भनाइ छ । अस्पताल विसं। २०४४ चैत्र १८ गते स्थापना भएको हो । रासस

प्रतिकृया दिनुहोस