भोलि जनै पूर्णिमाको दिन खाने क्वाँटी के हो, किन खाने र कसरी बनाउने ?
काठमाडौं । क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । भोलि जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।
नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।
रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ । टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ । क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन् ।
क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ । भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ । झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ । प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।
क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ । टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।
गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ । सस्तो र घरमै तयार गर्न सकिने हुनाले यसलाई अन्य खानेकुराको तुलनामा सन्तुलित आहारको रुपमा लिन सकिन्छ । यस्तो बहूउपयोगी क्वाँटी जनैपूर्णिमामा मात्र नभई अन्य बेलामा पनि खाने गर्नाले हाम्रो यो शरीरलाई चाहिने सन्तुलित भोजनको महत्वपूर्ण अंश बन्न सक्छ । त्यसैले क्वाँटी खान रक्षा बन्धन नै कुर्नु भन्दा समय समयमा क्वाँटी खाने गरे हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ ।
नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।
विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ ।
नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।
क्वाँटी कसरी बनाउने
क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन्। कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन्। कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन्। यसमध्ये हामीले शाकाहारी क्वाँटी बनाउने तरिका दिएका छौ।
आवश्यक सामाग्री
टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम
ज्वानो– १० ग्राम
सुप– ५ ग्राम
तोरी– ५ ग्राम
करी पाउडर– ५ ग्राम
काटेको/पिनेको लसुन– १० ग्राम
काटेको/पिनेको अदुवा– १० ग्राम
ताजा हरियो/ रातो खुर्सानी– ५ ग्राम
बेसारको धुलो– ५ ग्राम
काटेको प्याज– २० ग्राम
काटेको गोलभेडा– ४० ग्राम
नुन -स्वाद अनुसार
काटेको हरियो धनियाँ– ५ ग्राम
क्वाँटी तयार गर्ने तरिका
- दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्
- प्रेसर कुकरमा तेल तताउनुहोस्।
- तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो/हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस्।
- अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस्।
करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।
- केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस्।
- ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।
- क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।
- अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।
क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकिन्छ। साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ।
प्रतिकृया दिनुहोस