कोटीहोम महायज्ञमा आचार्य विश्वकर्माको प्रवचनः वेदले जातको आधारमा विभेद गरेको छैन

काठमाडौं । पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आज आचार्य लेखबहादुर विश्वकर्माले प्रवचन दिएका छन् । आचार्य विश्वकर्माले प्रवचनका क्रममा आफूले आजसम्म वेदले विभेद गरेको नभेटेको बताए । उनले समाजमा रहेको विभेद केवल समाज र समाजमा रहेका व्यक्तिहरुको विचार, मनशाय र चरित्रको कुरा भएको बताए । उनले आफूले अध्ययनका क्रममा शास्त्रमा कतै पनि विभेद नभेटेको बताए ।

‘मैले आजसम्म जति पढेँ, बुझें, गुरुहरुबाट ज्ञान लिएँ, त्यो शास्त्रले गरेको विभेद रहेनछ भन्ने कुरा मैले बुझेको छु । कतिपय हाम्रो समाजमा यो समुदायका व्यक्तिले हामीलाई विभेद गर्यो, भेदभाव गर्यो, छुवाछुट गर्यो, हामीलाई अपहेलना गर्यो भन्ने केही भनाइहरु अत्यन्तै गलत छन् । मेरो बुझाइमा यो व्यक्ति विशेषको विचार, मनशाय र चरित्रमा भरपर्ने कुरा हो । वेदले अथवा शास्त्रले यो कुरालाई भनेको मैले अहिलेसम्म फेला पारेको छैन,’– उनले भने ।

साथै, श्रीमद भागवत गीतामा पनि गुण र कर्मका आधारमा मानिसको चार जातको विभाजन भएको भनी उल्लेख गरेको उनले बताए । समाजमा रहेको अन्धविश्वासको आधारमा जातको विभाजन नभएको उनको भनाइ छ ।

‘श्रीमद् भागवत गीतामा पनि भनिएको छ– गुण, कर्मद्वारा नै मैले चार वटा जातलाई विभाजन गरेको हुँ । गुण र कर्मद्वारा विभाजित गरिएको जात हो । यो समाजमा रहेको अन्धविश्वास छ, त्यो अनुसार विभाजन गरिएको होईन,’– उनले भने ।

हिजो (शुक्रबार) आयार्च कृष्ण दामाइले प्रवचन दिएका थिए ।

प्रतिकृया दिनुहोस