देवी प्रतिभा र धर्मशास्त्रमा सम्बन्धबिच्छेद
काठमाडौँ । नेपालीहरूले यसअघि कमै नाम सुनेका र युवा अवस्थामै पौराणिक कथावाचक बन्न सफल देवी प्रतिभाद्वारा अभिव्यक्त ‘धर्मशास्त्रमा डिभोर्स भन्ने शब्द छैन’ भन्ने कुरा अहिले निकै चर्चामा छ । वास्तविकता त के हो भने हिन्दु धर्मशास्त्रहरूमा ‘सम्बन्ध बिच्छेद’ भन्ने शब्द साँच्चै कतैपनि उल्लेख गरिएको छैन । हाम्रा पौराणिक कथाहरूमा, देवी-देवताका जीवन-गाथाहरूमा ‘विवाह’ शब्द मात्र होइन, कसको विवाह कोसँग भएको थियो, कसरी भएको थियो फेहरिस्त उल्लेख भएपनि विवाहित जोडीहरू छुट्टिएको परिकल्पना गरिएको छैन । पौराणिक कालमा मात्र नभइ आधुनिक कालमा पनि कसैले विवाह गर्दैगर्दा कुनै दिन मेरो सम्बन्ध बिच्छेद हुनसक्छ या हुन्छ भनेर खासै कल्पना गरेको हुँदैन । ज-जसको सम्बन्ध बिच्छेद भएको छ, कुनै दिन आफ्नो सम्बन्ध बिच्छेद हुन्छ भन्ने लागेको भए उनीहरूले सायद विवाह नै गर्ने थिएनन् होला । जीवन धान्दै गर्दा यात्रामा सँगै हिँड्न नसक्ने परिस्थिति आएपछि मात्रै मानिसले सम्बन्ध बिच्छेदको बाटो रोज्छ । महिला, पुरुष, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक सबैमा लागु हुने कुरा हो यो ।
धर्म र विवाहबीच गहिरो सम्बन्ध छ । नेपालमा मात्र होइन विश्वमै अधिकांश विवाहहरू भगवानलाई साक्षी राखेर गरिन्छन् । हिन्दु धर्मावलम्बीहरू कतिले मन्दिरमा विवाह गर्छन्, कतिले मण्डप बनाएर, ब्राम्हण पढाएर, सातफेरा लगाएर, अग्नी साक्षी राखेर विवाह गर्छन् भने क्रिश्चियन धर्मावलम्बीहरूले प्रायः चर्चमा विवाह गर्छन् । कुरानमात्र यस्तो धर्मशास्त्र हो जहाँ विवाह र सम्बन्ध बिच्छेद दुवैको परिकल्पना गरी स्पष्ट उल्लेख गरिएको छ । मुस्लिम धर्ममा महिला पुरुष दुवैले विवाह सफल नहुने देखे भने सम्बन्ध बिच्छेद गर्न सक्छन् । सम्बन्ध बिच्छेदपछि पुरुषले चाहेमा तुरुन्तै विवाह गर्न पाउँछ भने महिलाले तीन महिना पर्खिनु पर्छ । महिलाका लागि उल्लेख भएको तीन महिनाको ‘स्पेस’ पनि सही जस्तो लाग्छ, दुःख परेको बेला कसैले राम्रो गरिदिए झैँ गऱ्यो भने भावनात्मक वहकावमा मानिसले गलत निर्णय पनि गर्न सक्छन् । हिन्दु धर्मशास्त्रहरूमा पनि भावनात्मक आवेगमा भएको बेला कुनै पनि ठुला निर्णयहरू नगर भनिएको छ । विवाह जिन्दगीको ठुलो निर्णय हो । असफल विवाहहरूमध्ये धेरैजसो विवाह भावनात्मक आवेगमा गरिएको पाइन्छ ।
धर्मशास्त्रमा रुचि राख्नेहरूलाई रामायणमा रामको विवाह सितासँग कसरी भएको थियो थाहा छ, महाभारतमा पाण्डवको विवाह को-कोसँग कसरी भएको थियो, यदि भएको थिएन भने किन भएको थिएन थाहा छ । पाण्डवको मात्र होइन, धृतराष्ट्र, गान्धारी, राजा सन्तनु सबै पात्रको विवाहको बारेमा जानकारी छ । अनि विवाहलाई लिएर पटक-पटक सात जुनीको सम्बन्ध भनी उल्लेख गरिएको थाहा छ । सीता सर्वसाधारणकी छोरी नभ राजा जनककी छोरी राजकुमारी थिइन् तर राम वनबास जाँदा पछिलागेर सँगै गइन् । गान्धार देशकी राजाकी छोरी गान्धारी राजकुमारी थिइन् । हस्तिनापुरका दष्टिविहीन राजकुमार धृतराष्ट्रसँग विवाह हुने टुङ्गो लागेपछि पतिजस्तै दृष्टिविहीन बन्नका लागि उनले आँखामा पट्टी बाँधिन् र, आजीवन दृष्टिविहीनको जीवन बाँचिन् । हाम्रा धर्मशास्त्रहरूमा महिलाको आफ्नै हैसियत र सार्वजनिक जीवनको परिकल्पना कमै मात्रामा गरिएको छ ।
तथापि, हाम्रा धर्मशास्त्रमा महिलाको ब्यवसायिक जीवनको परिकल्पना गरेर अघिसारिएका आफैमा शक्तिशाली महिलाहरू नभएका भने होइनन् । महाभारतकी एक पात्र मत्स्यगन्धा त्यतिबेलाको जमानामै डुंगा चलाउँथिन्, आफै पैसा कमाउँथिन् । रानी सत्यवतीले आफ्नो बंश धान्न बुहारी अम्बिका र अम्बालिकालाई आफ्ना छोराहरूको मृत्यु भइसकेको अवस्थामा अरुबाटै गर्भधारण गराउने हिम्मत गरिन् । द्रौपदीले आफ्ना पतिहरूमाथि मात्र नभइ भारी सभामा राजा र मन्त्रीहरूमाथि प्रश्न उठाउँदै लाछीको संज्ञा दिइन् ।
देवी प्रतिभा तिनै धर्मशास्त्रमा भएका पात्रहरूको बारेमा कथा सुन्दै हुर्किने क्रममा कथा वाचन गर्न थालेकी युवती हुन् । कथा भन्दैजाँदा भारत सरकारले उनमा प्रतिभा देख्यो र, त्यहाँका मान्छेहरूले उनको कथा मनपराए । जीवनका आरोह-अवरोहबाट गुज्रिनसकेकी एउटी कलिली युवती जसले बाहिरी संसारभन्दा शास्त्रहरूको संसारलाई बढी नजिकबाट चिनेकी छन् । जुन संसारमा महिला पात्रहरूले विवाहपछि पतिलाई परमेश्वर मान्दै जीवनयात्रा अघि बढाएका छन् । उनी सायद शास्त्रीय र ब्यवहारिक दुवै ज्ञान सिक्ने क्रममै छन् । उमेर र ज्ञान दुवै हिसाबले उनी काँचो माटोकै रूपमा छन्, जसलाई कुनैपनि रूपमा आकार दिन सकिन्छ । उनले बोलेका शब्दमध्ये ‘शास्त्रमा सम्बन्ध विच्छेद भन्ने शब्द नै छैन’ भन्ने कुरा सही छ, तर त्यसपछि बोलिएको ‘महिलाले पतिले जे भन्यो त्यही सहेर बस्नुपर्छ’ भन्ने मान्यताबाट समाज निकै अगाडि बढिसकेको छ ।
अहिले विचार मिलेन, सँगै यात्रा गर्न सकिन्छ जस्तो लागेन भने न पतिले पत्नीलाई सहेर बस्नुपर्छ न त पत्नीले नै पतिलाई सहेर बस्नुपर्छ । जीवनयात्रा पूरा गर्ने क्रममा अहिले पतिले मात्र नभइ पत्नीले पनि उत्तिकै कमाउनुपर्ने अवस्था छ । अधिकारसँगै कर्तब्यका कुराहरू पनि छन् । जुन कुरा कथावाचनको यात्रा अघि बढाउँदै जाँदा आएका प्रतिक्रियाबाट उनले सिक्नेछिन् भन्ने लाग्छ । जुन प्रकारले अहिले देवी प्रतिभालाई ट्रोल गरिएको छ, त्यो गरिरहन आवश्यक थिएन । उनी जेण्डर स्टडिजकी प्राध्यापक या लेक्चरर होइनन्, न त महिला अधिकारवादी अभियन्ता नै हुन् । उनी र उनीजस्ता कथा वाचकहरूबाट पितृसत्तालाई सघाउ पुग्ने वाणीहरू बोलिनसक्छन् जसलाई समझदारहरूले ‘योचाहिँ गलत भयो, अर्को पल्टदेखि सुधार गर्नु है’ भन्नसक्ने ठाउँ र अवस्था रहन्छ । सुझाव दिँदा पनि गल्तीहरू दोहोरिए भने फरक दृष्टिकोण बनाउन मिल्ला तर अहिले त हामीले उनलाई के-के भन्यौँ भन्यौँ…! विदेशी कथावाचकहरूलाई हामीले भनेको अर्थ नहुन सक्छ तर प्रतिभा नेपालकी छोरी भएकीले उनका गल्तीहरू औंल्याउने र भरपुर प्रशंसा गर्ने दुवै हक हामीलाई छ ।
हामीबाट पनि विगतमा कति गल्तीहरू भए, त्यतिबेला यसैगरी ट्रोल गरिएको भए तपाईं-हामीमध्ये कतिले आफ्नो क्षेत्रमा अहिले जे गरिरहेका छौँ त्यो क्षेत्र नै छोड्न पनि सक्थ्यौँ ।
संधै पुरुषहरूको वर्चश्व रहेको रामकथा र अन्य कथा वाचनमा महिलाहरूको उपस्थिति आफैमा गर्वलाग्दो कुरा हो । उनीहरूले बोल्ने शब्दको चर्चा गर्नका लागि पनि पहिला उनीहरू यो क्षेत्रमा आउन आवश्यक हुन्छ । गल्ती त काम गर्न थालेपछि हुन्छ, जुन क्षेत्रमा भएपनि मानिसले गल्ती गर्दै नै सिक्ने हो । आफ्नो पेशा, ब्यवसायमा कुनै पनि गल्ती नगरी गहिरो अनुभव हासिल गर्ने मानिसहरू यो संसारमा सायदै होलान् । हामीबाट पनि विगतमा कति गल्तीहरू भए, त्यतिबेला अहिले झैँ यसैगरी ट्रोल गरिएको भए तपाईं–हामीमध्ये कतिले आफ्नो क्षेत्रमा अहिले जे गरिरहेका छौँ त्यो क्षेत्र नै छोड्न पनि सक्थ्यौँ ।
सम्बन्ध बिच्छेदको इतिहास र नेपालले भोगिरहेको वर्तमान
हिन्दु र क्रिश्चियन धर्मशास्त्रहरूमा सम्बन्ध बिच्छेदका बारेमा उल्लेख नभएपनि धार्मिक कार्यमा भाग लिने जोडीको सम्बन्ध बिच्छेद कम हुने अध्ययनहरूले देखाएका छन् । कुनै पनि मुलुकमा सम्बन्ध बिच्छेद धार्मिक नभइ ब्यक्तिगत निर्णय हो, जुन कानूनीप्रक्रियाबाट अन्त्य हुन्छ । डिभोर्स शब्द ल्याटिन शब्द डिभोर्टियमबाट आएको हो । डाइभोर्ट, डाइभोर्टी हुँदै डाइभोर्टियम भएको भन्ने इन्टरनेटमा प्राप्त विभिन्न सामाग्रीहरूमा उल्लेख छ । ‘डी’ को अर्थ ‘अपार्ट’ र ‘भोर्टी’को अर्थ ‘डिफरेन्ट वे’ (फरक बाटो) भन्ने हुन्छ । यो फ्रेन्च भोकावलरीबाट आएको ल्याटिन शब्द रहेछ । जसको उत्पत्ति सन् १३५० देखि १४०० को बीचमा भएको मानिन्छ ।
१७६० बीसीमा राजा हमुराबी अफ बेबीलोनले ढुंगामा लेखेर २ सय ८२ वटा कानून बनाउँदा त्यसमा डिभोर्सको कानून पनि थियो भन्ने छ । जतिबेला पुरुषले आफ्नी पत्नीलाई ‘अबदेखि तिमी मेरो श्रीमती होइन’ भनेर मुखले भनिदिँदा बेबीलोन इम्पायरले श्रीमती छोड्ने बेलामा उसले माइतीबाट ल्याएको सामान फिर्ता दिनुपर्ने र क्षतिपुर्ति दिनुपर्ने भनी ‘ढुङ्गे कानून’ बनाए । यसैलाई सम्बन्ध बिच्छेदको पहिलो कानून मानिएको कुरा ‘द ओरिजिन अफ डिभोर्स’ शीर्षकको लेखमा उल्लेख गरिएको छ ।
सन् १५२३ मा बेलायतमा पहिलोपल्ट सम्बन्ध बिच्छेदको कानून बनाउन खोज्दा तात्कालीन राजा र पोपबाट विरोध भएपछि केही समयलाई पछि हटेको भन्ने सामाग्रीहरू प्रकाशित छन् । कतिपयले सन् १५२३ मा बनेको कानूनलाई राजा र पोपले सन् १८१६ मा खारेज गरी सम्बन्ध बिच्छेदलाई पुनः गैरकानूनी घोषणा गरिएको भनी लेखेका छन् । जे-जे भएको भएपनि समय एकनास रहेन, जुन राजाले कानूनको विरोध गरेका थिए, तिनकै सन्तान युवराज चार्ल्स र लेडी डायनाको कानूनीरूपमै सम्बन्ध बिच्छेद भयो ।
सम्बन्ध बिच्छेदको इतिहास हेर्दा अमेरिकामा सन् १७०१ देखि, फ्रान्समा १७६२ देखि, जर्मनीमा सन् १८७५ देखि भएको देखिन्छ । आयरल्याण्ड, स्पेन, इटालीलगायतका मुलुकमा भन्दा नेपालमा पहिला सम्बन्ध बिच्छेदको कानून बनेको थियो । सन् १८५४ (वि.सं. १९१०) मा श्री ३ जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा ल्याइएको मुलुकी ऐनमा ‘पाचुके गर्न्या’ शीर्षक अन्तर्गत सम्बन्ध बिच्छेदको ब्यवस्था गरिएको छ । नेपालीमा सम्बन्ध बिच्छेदलाई पारपाचुके पनि भन्ने गरिन्छ । किन हो थाहा भएन त्यतिबेला सम्बन्ध बिच्छेदमा नेवार महिला र गैरनेवार महिलाका लागि फरक ब्यवस्था गरिएको छ । अमेरिकामा फरक-फरक राज्यमा फरक समयमा कानून बनेको देखिन्छ । अमेरिकामा सन् १६८२ मा पेन्सिलभेनिया राज्यमा पहिलो डिभोर्स भएको थियो, जतिबेला कानून बनेको थिएन ।
नेपालको पछिल्लो तथ्याङ्कअनुसार, वि.सं. २०७९÷८० एक वर्षमा देशभरीका अदालतहरूमा ४० हजार १ सय ८३ मुद्दा दर्ता भएको पत्रकार भाषा शर्माले नागरिक दैनिकमा लेखेकी छन् । वि.सं. २०७८/७९ मा मुद्दा दर्ताको सङ्ख्या ३७ हजार ७८ थियो जसमा २७ हजार ७८ मुद्दा छिनोफानो गरिएका थिए । सम्बन्ध बिच्छेदको यो फेहरिस्त कथाबाचकहरू लगायत अन्य क्षेत्रमा बोल्ने, लेख्नेहरूका लागि काम लागोस भनेर दिइएको हो । धर्मशास्त्रमा लेखिएपनि नलेखिएपनि अहिलेको हाम्रो वास्तविकता यही हो । हामीले चाहेर-नचाहेर सम्बन्ध बिच्छेद बढ्दो क्रममा छ । किन यस्तो भइरहेको छ ? यसको न्यूनीकरणका लागि के गर्न सकिन्छ ? कारण र समाधानको खोजी गर्ने काम सायद हामी सबैको हो ।
प्रसङ्ग पुनः देवी प्रतिभाकै जोडौँ, एउटा उत्साहका साथ आफ्नो देशमा कथा भन्न आएकी, आफूले रोजेको क्षेत्रमा राम्रो भविष्य भएकी युवालाई हामीले अपराधीलाई झैँ खेद्यौँ, उडायौँ । तर उनलाई भारतमा भने धेरै नै सम्मान गरिँदोरहेछ । युटुबमा एउटा भिडियो छ, ‘देवी प्रतिभाका कथामें कैसे होता हे आगमन’ शीर्षकको उनको भिडियोमा मोटर र मोटरसाइकलका आँखाले नभ्याउने लहर देखिन्छ । आफ्नो छोरीको उमेरकी युवालाई भारतीय दर्शकले गर्ने प्रशंसा हेर्दा खुशीले मन भरिन्छ । उनी सिक्दैछिन्, एउटी कलिली युवाबाट सद्गुरु स्तरको प्रवचनको अपेक्षा हामीले गर्नु हुँदैन तर भविष्यमा उनले आफूलाई परिमार्जन गर्दै लगेर उच्च स्थानमा नपुऱ्याउलिन् भन्न भने सकिँदैन ।: घटना र विचारबाट
प्रतिकृया दिनुहोस