भरतपुर अस्पतालमा आजदेखी बिहान ९ देखि ४ बजेसम्म ओपिडि सेवा

चितवन । भरतपुर अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ । अस्पतालले आज बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बहिरङ्ग (ओपिडि) सेवा सञ्चालन गर्न लागेको हो ।

अस्पताल प्रशासनले आईतबार एक सूचना प्रकाशित गरी साउन १५ गते आजबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको छ । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टरबाट सेवा लिन सकिने सूचनामा उल्लेख छ । यस्तै जिओपिडि सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म नियमित सञ्चालन रहने जनाईएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले टिकट काटेका बिरामीले समेत परीक्षण गर्न नपाएपछि सेवा विस्तार गरिएको बताउनुभयो । 

अर्थाेपेडिकसँगै मेडिकल, सर्जिकल लगायतका विभागमा बिरामीको चाप उस्तै छ । अस्पतालमा मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउँछन् । कतिपयले टिकट काट्नै पाउँदैनन् भने कतिपयले लामो लाईन बसेर काटेको टिकटबाट उपचार लिन नसकेको प्रमुख प्रा.डा. पौडेलले बताउनुभयो ।

बहिरंग सेवामा मात्रै होइन, अन्तरङ्ग सेवामा पनि समस्या छ । शल्यक्रियाका लागि बिरामीले लामो पालो कुर्नु पर्ने अवस्था छ । प्रा.डा.पौडेल पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको स्टिल निकाल्न एक वर्ष पालो कुर्नु परेको छ । आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि निकै लामो समय पालो कुर्नुको विकल्प बिरामीलाई नभएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा चितवन सहित छिमेकी २५ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ काठमाण्डौंको प्रसुती गृहपछि सबैभन्दा बढी प्रसुती सेवा दिने गरिएको छ । दैनिक २ हजारदेखि ३ हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस