मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता प्रत्याभूत हुने गरी संशोधन जरुरी

काठमाडौं । मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता प्रत्याभूत हुने गरी संशोधन आवश्यक रहेकोमा जोड दिइएको छ । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘आमसंचार कानुन तथा पत्रकार अभिमुखीकरण’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

उनीहरूले संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता प्रत्याभूति गर्ने गरी संशोधन गर्नुपर्ने खाँचो औँल्याए । अधिवक्ता अरुणकुमार पौडेलले विश्वका अन्य देशको मिडिया नियमन गर्ने निकायको तुलनामा हाल सरकारले ल्याएको विधेयक हेर्ने हो भने त्यसले प्रेस स्वतन्त्रता र स्वायत्तता प्रदान गर्न सक्ने किसिमको नभएको बताए ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्ण रोकायाले सरकारले सदनमा पेश गरेको विधेयकले पूर्वप्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्न नसक्ने देखेर नै करिब ६ दर्जनबढी प्रावधानहरूमा सांसदहरूले संशोधनको प्रस्ताव दर्ता गराएको बताए । उनले विधेयकले परिकल्पना गरे अनुसार मिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र हुन नसक्ने बताए । काउन्सिलका अध्यक्ष र सदस्यहरूको सिफारिस समितिको संरचनादेखि लिएर काउन्सिलमा बस्ने व्यक्तित्वको योग्यता संशोधन हुनुपर्छ भनेर पर्याप्त संशोधनको प्रस्ताव दर्ता भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले मिडिया काउन्सिलको नेतृत्व लिने व्यक्तित्व सर्वोच्च अदालतको न्यायाधीश सो सरहको योग्यता भएको व्यक्तित्व हुनुपर्ने बताए । संघीय संसद्को माथिल्लो सदनको प्रतिनिधित्व गराउन सकेमा काउन्सिलको गरिमा र मर्यादा बढ्ने उनको तर्क छ । : News Dainik

प्रतिकृया दिनुहोस