सिँजा सभ्यता र नेपाली भाषा
काठमाडौं । मानिसलाई संसारमा चिनाउने सशक्त माध्यम नै भाषा हो । भाषाबिना हरेक प्राणीको जीवन निरर्थक हुन पुग्छ । आफ्नो धर्म, संस्कार, संस्कृति, जातित्वको पहिचान भाषाले गराउने भएकाले भाषाको ज्यादै ठुलो महत्व रहेको छ । त्यसैले भाषा समाप्त हुनु भनेको पहिचान नै समाप्त भएर जानु हो । आफ्नो भाषाको प्रयोग हरेक समुदायले गर्नु पर्छ । भाषाको विस्तार गरी प्रयोग क्षेत्र फराकिलो बनाउँदै लैजानु पर्छ । आफ्नै भाषामा विज्ञान प्रविधिका नयाँ नयाँ विषयवस्तु आविष्कार गरी बाह्य जगत्लाई भाषाप्रति आकर्षित गर्नु पर्छ ।
नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हो । नेपाली भाषालाई पहिला खस भाषा भनिन्थ्यो । अहिले पनि खस भाषा भन्ने चलन कायमै छ । रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँ आठौँ शताब्दीदेखि नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति, खसानको बासिन्दा नै खस भएको कुरा बृहत् नेपाली शब्दकोशमा उल्लेख गरिएको छ ।
खस साम्राज्यको उत्पत्ति जुम्लाको सिँजा क्षेत्रबाट भएको हुनाले जुम्लाको सिँजा क्षेत्रलाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । खस साम्राज्यको शुभारम्भ नागराजको शासनबाट भएको इतिहासकारले बताउँदै आएका छन् । विसं ११५० तिर सिँजा उपत्यकालाई राजधानी बनाएर खसहरूले शासन चलाएका थिए । उनीहरूको शासन कालमा विशिष्ट कलाशैली, सामाजिक, आर्थिक वर्ग निर्माण, सञ्चार रणनीति, पुरातात्त्विक स्मारक, धार्मिक तथा सांस्कृतिक विशिष्टता बोकेका धेरै कलाकौशलको निर्माण भएको थियो । उनीहरूले निर्माण गरेका सम्पदाको संरक्षण गर्न नसक्दा इतिहासका कतिपय तथ्य धरापमा पर्न लागेका÷परेका छन् । यस क्षेत्रमा बनाइएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाज संरक्षणको अभावमा ध्वस्त हुँदै गएको स्थानीयबासी बताउँछन् । सिँजाको कनकासुन्दरी मन्दिर, विराट दरबार, नाख्या दुला, हाङ्ग्रा देवता मन्दिर, लेकपर माला मन्दिर, नैधारा मन्दिर, बातामालिका महादेव जस्ता धेरै देवीदेवताका मन्दिर जीर्ण भइसकेका छन् । पाँच पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ ।
मठ मन्दिर, चित्रकला, ठुलाठुला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्क लेखिएका शिलालेखसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेका छन् । कनकासुन्दरी मन्दिरको धर्मशाला निर्माणका क्रममा भेटिएका तीन सय वर्ष पुरानो मूर्ति सुरक्षाका कारण इलाका प्रहरी कार्यालय हाड सिँजामा राखिएको छ ।
खस साम्राज्यको शुभारम्भ नागराजको शासनकाबाट सुरु भएको मानिन्छ । इतिहासकारको मत अनुसार तिब्बतमा दीक्षित नागराजले सुरुको केही अवधि ताक्लाकोटबाट राजकाज चलाए र त्यसपछि बाह्रौँ शताब्दीको मध्य अर्थात् विसं ११५० आसपासदेखि सिँजा उपत्यकालाई राजधानी बनाए । उनको शासनपछि क्राचल्ल, अशोकचल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्लले खस साम्राज्यलाई कुशलतापूर्वक विस्तार गरेको भन्ने भनाइ छ । यस कालमा भाषा, भेषभूषा, धार्मिक आस्था, कला, संस्कृति, सिप, शासकीय पद्धतिमा आफ्नै मन बोकेको मौलिकता विकसित भएको थियो । पृथ्वी मल्लको समयमा खस सभ्यता निकै फस्टाएको मान्ने गरिन्छ ।
हालसम्म प्राप्त अभिलेख अनुसार विसं १०३८ (शाके ९०३) को भूपाल दामुपालको समयको दुल्लुको अभिलेखलाई नेपाली भाषाको पहिलो अभिलेख मानिएको छ । बालकृष्ण पोखरेलले ‘पाँच सय वर्ष’ नामक आफ्नो पुस्तकमा यसलाई सही भएको ठोकुवा गरेका छन् । मोहनप्रसाद खनालको ‘नेपाली भाषाका हजार वर्ष’ (२०३८) पुस्तक अनुसार भने शाके १०१६ तदनुसार विसं ११५१ को वामु खड्काको दुल्लुस्थित भुसागाउँको कोटनजिकै खिराखेत नामक स्थानमा रहेको देवालाकार पाषाण स्तम्भको अभिलेखलाई पहिलो मानिएको छ ।
विक्रमको सोह्रौँ शताब्दीको अन्त्यतिर खस साम्राज्यको पतनपछि कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबिसे राज्यको साथै तिनीहरूमा नेपाली भाषाका थरीथरी भेदको जन्म हुन गयो । टुक्रे राज्यहरूमा भौगोलिक विकटता, परस्परको सम्पर्कको कमीले भाषामा विभिन्न भेदको जन्म हुन गयो । पछि गएर पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि नेपाली भाषाको प्रयोगमा एकरूपता सुरु भएको पाइन्छ ।
खस साम्राज्य कालमा स्थानीय बोलीचालीको खस जुम्ली भाषा सरकारी कामकाजको भाषा थियो । राजकीय आदेश, दानपत्र र कीर्तिस्तम्भमा लिपिबद्ध भएर भाषाको प्रयोग अगाडि बढेको कुरा अध्ययन गर्दै जाँदा जानकारी प्राप्त गर्न सकिन्छ । अशोकचल्ल (विसं १३१२ देखि १३३५) को समयमा दुल्लुको शिलालेख तथा हुम्लाको रेलिङ गुम्बामा रहेको ताम्रपत्रलाई नेपाली भाषामा लेखिएका प्राचीनतम अभिलेखमध्ये एक मानिन्छ । यस क्षेत्रमा खस भाषामा लेखिएका वीरस्तम्भ, शीलापत्र, ताम्रपत्र, कनकपत्र रहेको प्रमाण पाइन्छ । खस साम्राज्यको समयमा लेखिएका साहित्य र गैरआख्यान संरक्षणको परम्परा नभएका कारण पुस्तकको रूपमा सुरक्षित भएनन् । त्यतिबेलै गण्डकीलगायत नेपालको पूर्वी क्षेत्रमा खस भाषाको विस्तार भइसकेको थियो ।
खस साम्राज्य राज्य विस्तारको क्रममा निकै फैलियो । अशोकचल्लको पालासम्म भारतको गढवाल, कस्मिर, बोधगयासम्म फैलिएको थियो भन्ने गरिन्छ । विसं १२५० पछि उत्तर भारतमा मुसनमानको आव्रmमणले ल्याएको उथलपुथलले बोधगयालगायत केही क्षेत्रमा लामो समय टिक्न सकेन तर बाह्राँै र तेह्रौँ शताब्दीमा पूर्वतर्फ गण्डकी क्षेत्रसम्म विस्तार भएको थियो । विसं १३४४ देखि १३१९ सम्म जितारी मल्ल, रिपु मल्ल आदित्य मल्ल र पृथ्वी मल्लले काठमाडौँ उपत्यकाका सबै राज्य जितेर खस राज्यलाई विस्तार गरे । खस राज्यले उपत्यकामा स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथको पूजा गर्थे । तेह्रौँ शताब्दीमा खस भाषा र संस्कृति गण्डकी क्षेत्रमा फैलियो । उपत्यकामा बसोबासको विस्तार भयो । लगभग तीन सय वर्ष चलेको खस साम्राज्यका सभ्यता परिमार्जन र परिष्कृत हुँदै अहिले नेपाली राष्ट्रि«यताको अभिन्न अङ्ग बनेको छ ।
विश्वमा कला संस्कृतिको विशिष्ट स्थान रहेको छ । भाषाले कला, संस्कृति र भूगोलको पहिचान गराउँछ । संसारमा कुन संस्कृति धनी छ भन्ने कुरा त्यहाँको भाषा र साहित्यले दर्शाउँछ । यदि कुनै पनि भाषा लोप भयो भने त्यस समाजको साहित्य र संस्कृति लोप भएर जान्छ । अनि साहित्य र संस्कृति लोप भयो भने त्यो समाजको अस्तित्व हराएर जान्छ । संसारमा यस्ता धेरै समुदाय छन्, जसले आफ्नो भाषासाहित्यको जगेर्ना गर्न नसकेर लोप भएका छन् । भाषाले कुनै पनि जातिको साहित्य र संस्कृतिलाई बचाइराखेको हुन्छ ।
अन्य शब्द झैँ भाषा शब्दको पनि आफ्नै अर्थ र स्वरूप रहेको हुन्छ । ‘भाष्’ धातुमा अङ् +टाप् (आ) प्रत्यय जोडिएर भाषा शब्दको उत्पत्ति भएको पाइन्छ । यहाँ भाषा शब्दको अर्थ स्पष्ट वा व्यक्तिवाणी भन्ने हुन्छ । उच्चारण अवयवद्वारा उच्चारित अर्थयुक्त बोलीलाई नै स्पष्ट वाणीको अर्थमा लिइन्छ । भाषा एक मानवीय वस्तु हो । मानव समाजमा आपसी विचार विनियमका लागि प्रयोग गरिँदै आएको एक अमूल्य निधि हो । भाषा कथ्य र लेख्य गरी दुई किसिमका हुन्छन् । कथ्य भाषा लेख्य भाषाको तुलनामा बढी अस्थिर हुन्छ । समाजमा रहेका व्यक्तिबिच एउटाको भावना अर्कोसम्म पु¥याउने माध्यम नै वास्तवमा भाषा हो । यसलाई मानव सभ्यताको महìवपूर्ण उपलब्धि मानिन्छ । भाषाले नै मानवीय मनका विविध विचार परस्परमा आदानप्रदान गराउँछ । भाषाको सम्बन्ध जीवसँग, जीवनसँग, जीवनको प्रयोग, विकास र विस्तारसँग जोडिएको हुन्छ ।
मानिस मानिसबिच विचारको विनिमय गर्न सक्ने प्रमुख माध्यम नै भाषा हो । समाजका प्रत्येक व्यक्तिबिच सम्बन्ध स्थापित गर्न र सामाजिक व्यवहार आदानप्रदान गर्न भाषा अपरिहार्य हुन्छ । भाषाबिना एक व्यक्तिले अर्को व्यक्तिसँग न त व्यवहार नै गर्न सक्छ न त विचारको विनियम नै । फलतः भाषा मानव जीवनको एक मात्र सम्प्रेषणको माध्यम हो । यही सम्प्रेषणता नै भाषाको महत्वपूर्ण विशेषता हो । भाषिक व्यवस्था अन्तर्गत ध्वनि व्यवस्था, व्याकरण व्यवस्था, अर्थ व्यवस्था र शब्दभण्डार पर्छन् । भाषाभित्र सन्दर्भपरक अर्थ, कोशीय अर्थ, अर्थ परिवर्तन, अर्थ सङ्कोच, अर्थ विस्तार आदि अर्थ व्यवस्थासित सम्बन्धित विषय रहेका हुन्छन् । संसारका अन्य भाषासरह नेपाली भाषाको पनि आफ्नै किसिमको अर्थ व्यवस्था रहेको छ । भाषाको शब्दभण्डार जति ठुलो भयो, त्यति सूक्ष्म अभिव्यक्ति गर्न सकिन्छ । शब्दभण्डार वृद्धि गर्नका लागि भाषाले निरन्तर शब्द सापटी लिएर नयाँ शब्दको निर्माण गरिरहन्छ ।
भाषा, साहित्य, कला, संस्कृति एक अर्काका परिपूरक हुन् । भाषा समाजको ऐना हो । कुनै पनि समाज कस्तो छ भन्ने कुरा त्यस समाजको भाषाले बताउँछ । विकसित र सम्पन्न समुदायमा बोलिने भाषा र अविकसित र विपन्न समुदायमा बोलिने भाषामा गहिरो अन्तर रहेको पाइन्छ । कुनै पनि समाज वा देशमा भाषाको विकास भयो भने भाषा सँगसँगै त्यहाँको कला, साहित्य, संस्कृति, दर्शन, सिर्जनशीलता, मौलिकता, वैज्ञानिक खोज, आविष्कार जस्ता कुरा निखारिएर जाने गर्छन् । जर्मनको विकासमा जर्मनी भाषामा वैज्ञानिक खोज, आविष्कार, सिर्जनशीलता, मौलिकता, कला, संस्कृतिको विकास जस्ता कुरा जोडिए । अङ्ग्रेजी, जापानी, चिनियाँ, कोरियाली, रसियाली आदि संसारका विभिन्न भाषाले पनि यस्तो किसिमले विकास गरेको सहजै अनुमान गर्न सकिन्छ । तसर्थ भाषाको विकास देश विकासको पहिलो सर्त हुन जान्छ ।
नेपाली भाषा राम्रोसँग उच्चारण गर्ने, शुद्धसँग लेख्ने मानिसको कमी हुँदै गइरहेको छ । बजारमा टाँगिने/टाँसिने/प्रयोगमा ल्याइने विभिन्न किसिमका पर्चा, पम्प्लेट, साइनबोर्डमा पनि अशुद्ध नेपाली भाषाको प्रयोग भएको पाइन्छ । ठुला ठुला उद्योग, कम्पनी, सङ्घ संस्थाले समेत केही कुरा लेखेको हेरियो भने भाषागत शुद्धाशुद्धि गलत भएको पाइन्छ । यस्तो लेखाइले राम्रो पढ्न लेख्न जान्ने मानिससमेत झुक्किने गरेका छन् । तसर्थ सबैले नेपाली भाषालाई बचाउँदै स्तरवृद्धि गर्दै लैजानु पर्छ । साथै, लोकसाहित्यको सिर्जनाले भाषालाई जीवन्त बनाइराखेको हुन्छ । जातीय दृष्टिकोणदेखि रितिथिति, रहनसहन, परम्परा, संस्कृति भाषाले नै जोगाएका छन् ।
देश विकासको यति धेरै महत्व बोकेको नेपाली भाषाको उद्गम स्थल सिँजा र यसभित्र रहेका बहुमूल्य भाषिक कलासंस्कृति संरक्षणको पर्खाइमा छन् । संरक्षणको अभावमा घरघरमा रहेका लोकसाहित्य, धातुका पाता एवं कागज, भोजपत्रमा रहेका लेखोट आदि लुप्त भएर रहन पुगेका छन् । कतिपय बहुमूल्य सामग्री हामीले गुमाइ सक्यौँ । कति गुम्ने अवस्थामा छन् । मूल्यवान् भाषिक, सांस्कृतिक महत्वका सामग्रीको महत्वबोध हुन नसक्दा नष्ट हुने अवस्थामा पुगेका हुन् । यस्तो अवस्थामा स्थानीय, प्रादेशिक, सङ्घीय सरकार एवं स्थानीय स्तरबाट भाषिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न अब ढिला गर्नु हुँदैन । ( गोरखापत्र दैनिकबाट साभार )
प्रतिकृया दिनुहोस