‘भगवान्’ घर फर्काउने छोरी
काठमाडौं । पछिल्ला वर्ष हराएका मूर्तिहरू विदेशबाट धमाधम नेपाल फर्किंदैछन् । श्रद्धालुहरूले भक्तिपूर्वक रथयात्रा गरेर तिनलाई स्वागत गर्ने गरेका छन् । गायब भएका देवताका मूर्ति र कलाकृतिहरू धेरैजसो आफ्नै पुराना मठ–मन्दिर र पुरानै ठाउँमा पुनर्स्थापित पनि हुुँदैछन् ।
हराएको मूर्ति कहाँ छ भनेर खोज्नु मात्रै हैन, त्यसलाई नेपाल फर्काएर पुरानै थलोमा पुर्याउनु कम्ती चुनौतीपूर्ण काम छैन । यही कठिन कामलाई सम्भव बनाउन मिहिनेत गर्ने एक अग्रणी अभियन्ता हुन्, अलिशा सिजापति ।
अंग्रेजी साप्ताहिक ‘नेपाली टाइम्स’का लागि सम्पदा विषयमा कलम चलाउने ३२ वर्षीया सिजापति ‘नेपाल सम्पदा पुनर्स्थापन अभियान’की निर्देशक समेत हुन् । अहिलेसम्म नेपाली साधन–स्रोतकै बलमा चलिरहेको यो अभियान अन्तर्गत उनी हराएका मूर्ति र सम्पदाहरूको खोजी र तिनको घरफिर्तीको लागि आवश्यक भूमिका निर्वाह गर्छिन् ।
नेपालबाट हराएका पुरातात्विक महत्वका कलाकृतिहरूको खोजी सन् १९८६ देखि नै सुरु भएको हो । तर, त्यसलाई भेट्टाउँदा समेत फिर्ता ल्याउन सकस हुने अवस्था वर्षौंसम्म रह्यो । पाटनबाट चोरी भएका लक्ष्मीनारायण र उमामहेश्वरको मूर्तिदेखि दोलखा भैरवको मुकुटसम्म यसका उदाहरण हुन् ।
पुरातत्व विभागको नेतृत्वमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, इटली, चीन, भारत लगायत मुलुकबाट १४९ थान मूर्ति तथा कलात्मक वस्तु नेपाल फिर्ता भएको छ । अमेरिका पुगेका ७० भन्दा बढी मूर्ति नेपाल फर्काइएका छन् ।
बाहिर हेर्दा सरकारको पहलमा फर्किएको देखिए पनि यसको पछाडि बसेर लामो समय लगाएर कसैले काम गर्नुपर्छ । ‘नेपाल सम्पदा पुनर्स्थापन अभियान’ यस्तै कामका लागि दौडधुप र मिहिनेत गर्नेमध्ये अग्रणी संस्था हो ।
अभियानले हराएका मूर्तिको विवरण मात्रै राख्दैन, ती विदेशका कुन संग्रहालय वा संकलकसम्म पुगेका छन् भन्ने अध्ययन/अनुसन्धान पनि गर्छ । कतिपय सार्वजनिक भएका मूर्ति फिर्ता ल्याउने प्रयोजनका लागि तथ्य र प्रमाण जुटाउँछ ।
मूर्ति फिर्ता ल्याउन सरकारी प्रक्रियाबाट गर्नुपर्ने ‘दाबी’का लागि पुरातत्व विभाग, परराष्ट्र मन्त्रालय, सम्बन्धित देशको दूतावास, म्युजियम र सम्बन्धित व्यक्ति तथा संस्थालाई घच्घच्याउने काम पनि गर्छ । आवश्यक परेको ठाउँमा पुगेर बहस–पैरवी, सहजीकरण, समन्वय र खबरदारी गर्छ । चोरिएर तस्करी भएका मूर्तिहरूबारे प्रहरी र इन्टरपोल मार्फत कानुनी बाटोबाट आफ्नो दाबीलाई बलियो बनाउन समेत अभियन्ताहरूले मिहिनेत गर्छन् ।
त्यही टिमकी सिजापतिले मूल रूपमा हराएका मूर्तिहरूबारे प्रमाण संकलन र स्थानीयहरूसँगको कुराकानी मार्फत बलियो दाबी पुग्ने गरी सन्दर्भ सामग्रीहरू तयार गर्छिन् । यस्ता सामग्री हराएका मूर्तिहरू फिर्ता ल्याउने अभियानमा महत्वपूर्ण औजार बनिरहेका छन् ।
जब विदेशी संग्रहालयमा मूर्तिहरू भेटिन्छन्, तब अभियानले ती मूर्तिसँग सम्बन्धित समुदायमै पुगेर उनीहरूको कुरा समेटेको ‘रिपोर्ट’ तयार गरेर पुरातत्व विभागमा पुर्याउँछ । त्यसमाथि दाबी पेश गर्नका लागि अनि फिर्ता ल्याउने सबै प्रक्रियामा अभियानले फलोअप गरिरहन्छ । सरकारी प्रक्रियामा हुनसक्ने अलमल र ढिलासुस्ती अभियानमा हुँदैन । अनि छिटो र वास्तविक सूचना आदानप्रदान भएर मूर्ति छिटो नेपाल फर्किने वातावरण सिर्जना भइरहेको हुन्छ ।
यो अभियानका कारण वर्षौंअघि हराएका मूर्तिहरू नेपाल फर्किरहेका छन् । पछिल्ला वर्षहरूमा जसरी फिर्तीको दर बढेको छ, त्यसै अनुसार पुनर्स्थापनाको क्रम पनि बढ्दो छ । यस्तो महत्वपूर्ण काममा होमिएकी सिजापति पूर्णतः स्वयंसेवी भूमिकामा काम गरिरहेकी छिन् ।
पत्रकारिताले जोडेको सम्पदा साइनो
दी हिमालयन टाइम्स बाट व्यावसायिक पत्रकारिता सुरु गरेकी सिजापतिले दी काठमाण्डू पोस्ट् मा पुगेपछि सम्पदाबारे लेख्ने अवसर पाइन् । त्यहींबाट उनी काठमाडौंमा मूर्त/अमूर्त सम्पदा बारेको नियमित रिपोर्टिङमा लागिन् ।
सम्पदा विधामा कलम चलाउँदा चलाउँदै अंग्रेजी साप्ताहिक ‘नेपाली टाइम्स’ मा आबद्ध भएपछि हराएका मूर्तिहरूकै बारेमा अधिकतम खोजमूलक पत्रकारिता थालिन् । त्यही क्रममा हराएका मूर्तिहरूबारे बुझ्न सम्बन्धित स्थानीयलाई भेट्ने र उनीहरूको भावनासँग साक्षात्कार हुने क्रम बढ्यो ।
त्यतिबेलासम्म हराएका मूर्ति फिर्ता ल्याउन व्यक्तिगत तवरबाट प्रयत्न भइरहेकै थिए । तर, जब सिजापति विदेशका संग्रहालयमा भेटिएका नेपाली मूर्तिहरूबारे कुरा गर्न सरोकारवालाहरूसँग भेट्न थालिन्, उनको भेट रोशन मिश्र, कनकमणि दीक्षित, सञ्जय अधिकारी, रोहित रञ्जितकार, दिलेन्द्र श्रेष्ठ र ऋद्धिबाबा प्रधान जस्ता व्यक्तिहरूसँग भयो । अनि उनीहरूकै संलग्नतामा अभियान जन्मिन पुग्यो । अलिशाले त्यही अभियानको निर्देशकको भूमिकामा काम थालिन् ।
पत्रकार तथा अभियानका संस्थापक कनकमणि दीक्षित अलिशाले सुरुबाटै अभियानमा जोडिएर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँछन् । ‘उहाँले त यही विषयमा रुचि देखाएर अष्ट्रिया पुगेर स्नातकोत्तर गर्नुभयो’ दीक्षितले भने, ‘अलिशा सिजापति यो अभियानको सक्रिय नाम हो ।’
‘नेपाल सम्पदा पुनर्स्थापन अभियान’ ले पूर्ण रूपमा नेपालीहरूकै बलमा काम गरिरहेको छ । ‘यो चाहिं निर्धक्कसँग नेपाली अभियन्ता, नेपाली स्कलर, सेवानिवृत्त कर्मचारीहरूको विशुद्ध नेपाली अभियान हो’ उनले भने, ‘नेपालीले नै मन लगाएर काम गर्दा अभियान दिगो हुन्छ भन्ने यसले देखाएको छ ।’
अष्ट्रिया पुगेर ‘मास्टर्स इन कल्चरल हेरिटेज’ अध्ययन गरेकी अलिशाले ‘चोरिएका मूर्तिको पुनर्स्थापना’ विषयमै आफ्नो शोध गरेकी छिन् । भियना रहँदा पनि उनले नेपालकै लागि यही अभियानमा जोडिएर काम गरिरहिन् ।
अष्ट्रिया पुगेर ‘मास्टर्स इन कल्चरल हेरिटेज’ अध्ययन गरेकी अलिशाले ‘चोरिएका मूर्तिको पुनर्स्थापना’ विषयमै आफ्नो शोध गरेकी छिन् । भियना रहँदा पनि उनले नेपालकै लागि यही अभियानमा जोडिएर काम गरिरहिन् ।
यो अभियान मूर्ति कसरी फिर्ता ल्याउने र समुदायसम्म त्यसलाई कसरी फिर्ता लैजाने भन्नेमा केन्द्रित छ । मूर्ति फिर्ता ल्याउन अभियान आफैंले सबै काम गर्ने भने हैन । विदेशका संग्रहालयमा भेटिएका मूर्तिबारे हुने खोज, अनुसन्धान र मिडिया तथा सोसल मिडिया रिपोर्टिङले मात्रै मूर्ति फिर्ता गर्न सम्भव हुँदैन ।
यसका लागि पुरातत्व विभागले मूर्ति फिर्तीका लागि पत्र काट्नुपर्छ, जुन परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशका संग्रहालयसम्म पुग्नुपर्छ । यस्ता प्रक्रियाहरूमा आवश्यक सहयोग र सहजीकरण गर्नेदेखि दूतावासहरूसँग समन्वय गरेर ‘फलोअप’ गरिरहनु यो अभियानको नियमित काम बनेको छ ।
कतिपय अवस्थामा सोझै विदेशका संग्रहालयहरूसँग समेत कुराकानी गरेर मूर्ति फर्काउने वातावरण तयार गर्ने गरिएको सिजापति बताउँछिन् । जब यस्ता विभिन्न पक्षका संयुक्त प्रयासहरूले सार्थकता पाउँछन्, तब मात्रै मूर्तिहरूले घर फर्किने अवसर पाउँछन् ।
‘मूर्तिहरू समुदायको ज्युँदो सम्पदा अर्थात् भगवान् हुन्, त्यसैले मूर्ति स्वदेश फिर्ता ल्याउने मात्रै हैन, त्यसलाई समुदायमा कसरी फर्काउन सक्छौं भन्नेमा बढी केन्द्रित भएर काम गर्छौं’ उनले भनिन्, ‘हराएको वर्षौंपछि फर्किने मूर्तिलाई पुनर्स्थापित गर्न कतिपय समुदायलाई नै समस्या हुन्छ र त्यहाँ पनि अभियानले समुदायसँग सहकार्य गर्छ ।’
मदन पुरस्कार विजेता गंगाविक्रम सिजापतिकी नातिनी अलिशाको घर ‘स्टोलन इमेजेज् अफ नेपाल’ पुस्तकका लेखक लैनसिंह बाङ्देलको घर नजिकै थियो । इतिहास विषयमा रुचि राखे पनि उनलाई काठमाडौंबाट चोरिएका मूर्ति खोज्न अहिले बाङ्देलकै पुस्तक पनि बलियो सन्दर्भ सामग्री बन्नु संयोग मात्रै हो भन्ने लाग्दैन । तर, जसरी अभियानसम्म आइपुगे पनि बाङ्देलले बनाएको बाटोमा अघि बढेकोमा उनलाई गर्व छ ।
भियना बसेर अध्ययनसँगै अभियानको काम गरिरहँदा उनले थाहा पाइन् कि अरू देशकाहरूले पनि आफ्ना हराएका सम्पदा फर्काउन निकै ठूलो मिहिनेत गरिरहेका हुनेरहेछन् । उनले यस्तै काम गर्नेहरूको नेटवर्कमा जोडिंदै अनुभव र आत्मविश्वास बढाइन् ।
‘विश्वभरि नै सम्पदा पुनर्स्थापनाका लागि प्राथमिकता साथ काम भइरहेको छ’ उनी भन्छिन्, ‘जब मूर्ति फिर्ता आउँछ, तब समुदायका व्यक्तिहरूले जात्रा उत्सव मनाउनेदेखि भगवान्कै रूपमा प्रसाद, धूप, भेटी चढाएर ढोग्ने कुराले त्यसको महत्वलाई दर्साउँछ ।’
उनी मूर्ति फिर्ता ल्याउने कुराको जस लिनेभन्दा बढी काममै केन्द्रित हुनुपर्ने देख्छिन् । किनकि अहिले पनि १०० भन्दा बढी नेपाली मूर्तिहरू विदेशका विभिन्न संग्रहालयमा भेटिएका छन् । तिनलाई फिर्ता ल्याउन अहिलेसम्म भइरहेकै शैलीबाट संयुक्त प्रयासहरू हुनुपर्नेमा उनको जोड छ ।
‘मूर्ति फिर्ता र पुनर्स्थापनाको काममा एउटा व्यक्ति र समूहलाई मात्रै जस दिनै मिल्दैन’ उनी भन्छिन्, ‘मैले वा कसैले खोजेर लेखेको भरमा मात्रै मूर्ति फिर्ता आउने खालको प्रभाव पर्दैन, यो प्रक्रियामा धेरै मान्छे र संस्थाहरूले काम गर्छन्, त्यसैले यो सामूहिक काम हो ।’
सिजापतिको भनाइमा मूर्तिहरू फिर्तीको प्रक्रिया सजिलो छैन । कतिपयका सन्दर्भमा त यसले निकै लामो समय र ठूलो मिहिनेत माग्छ । त्यसैले स्वयंसेवी भूमिकाबाट नै अभियानमा जोडिनु, त्यसका लागि काम गर्नु आफैंमा चुनौतीपूर्ण छ ।
‘यसमा एकदमै धेरै काम छ, जुन गर्नैपर्छ, जिम्मेवारी मूल रूपमा पुरातत्व विभागकै हो’ उनी भन्छिन्, ‘तर यो देश जति सरकारी कर्मचारीको हो, उति नै हाम्रो पनि हो । त्यसैले देश र समाजका लागि हामी काम गरिरहेका छौं भने यसलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने सन्दर्भमा सरकारले पनि सोच्नुपर्छ ।’
‘यसमा एकदमै धेरै काम छ, जुन गर्नैपर्छ, जिम्मेवारी मूल रूपमा पुरातत्व विभागकै हो’ उनी भन्छिन्, ‘तर यो देश जति सरकारी कर्मचारीको हो, उति नै हाम्रो पनि हो । त्यसैले देश र समाजका लागि हामी काम गरिरहेका छौं भने यसलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने सन्दर्भमा सरकारले पनि सोच्नुपर्छ ।’
सम्पदा संरक्षणदेखि सम्पदा कूटनीतिसम्मका कामहरू अति महत्वपूर्ण भए पनि सरकारले प्राथमिकतामा राखेर काम नगरेको उनको बुझाइ छ । सरकारले मूर्ति सहित सम्पदाहरू संरक्षण र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनी बताउँछिन् ।
‘हेरिटेज डिप्लोमेसी धेरैको चासोमा नपरे पनि महत्वपूर्ण छ’ उनी भन्छिन्, ‘यो अभियानमा हामी फुल टाइमर भएर काम गर्न सकेका छैनौं, हामी अभियन्ताहरूको आ–आफ्ना सीमा र समस्याहरूले अल्झाए पनि प्रयत्नरत छौं ।’
उनलाई लाग्छ– अझै धेरै काम गर्न बाँकी छ । अहिलेसम्म काठमाडौं उपत्यकाबाट हराएका मूर्तिहरूको खोजीमा मात्रै सबैको चासो छ । काठमाडौंका प्राज्ञिकदेखि फोटोग्राफरसम्मको ‘ओभर एक्स्पोज’ भएकाले काठमाडौंबाट हराएका मूर्तिको पुनर्स्थापना तुलनात्मक रूपमा अन्यत्रको भन्दा सहज छ ।
अहिले फिर्ता आइरहेका मूर्तिहरू अधिकतम काठमाडौंकै भएको भन्दै उनी अब काठमाडौं बाहिरबाट चोरिएका मूर्तिको पनि खोजी गर्नुपर्ने बताउँछिन् । भएका मूर्तिहरूको संरक्षणलाई पनि महत्व दिनुपर्ने सिजापतिको भनाइ छ ।
‘तराईका सिम्रौनगढदेखि पश्चिम नेपालका डोल्पा, मुस्ताङ सहित देशका सबै भागहरूतर्फ पनि हेरौं’ उनी भन्छिन्, ‘अहिले पनि कर्णालीमा मूर्ति चोरीका घटना भइरहेका छन्, अब हाम्रो ध्यान र खोज अनुसन्धान काठमाडौं बाहिर पनि केन्द्रित हुनुपर्छ ।’ - online khabarरवीन्द्र घिमिरे
प्रतिकृया दिनुहोस