भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

चितवन,१६ माघ । भरतपुरकाे वीपी कोइराला मेमाेरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पाैडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पलात परिषर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ ।

विश्व मापदण्ड अनुसारकाे पाँच शैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको परियोजना चालु आर्थिक वर्षभित्रै सुरु हुने पाैडेलले जानकारी दिए ।

‘क्यान्सर रोगको उपचारको क्षेत्रमा यो परियोजना उत्कृष्ट हुनेछ,’ डा पाैडेलले भने, ‘रगतको क्यान्सर भएका विरामीहरु उपचारको लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ ।’

विश्वमा बोनम्यारो प्रत्यारोपण अत्यन्तै जटिल र महङ्गो मानिन्छ । अहिले पनि केहि ठाउँमा यसको उपचार भएतापनि एन्फेक्सन देखिने, रोगसँग लड्ने क्षमतालाई शुन्यमा झारेर उपचार गर्नुपर्ने हुन्छ । यो उपचार यहिअस्पतालमा हुँदा चितवन मात्र नभएर समग्र नेपाली जनतालाई टेवा पुग्ने विश्वासका साथ यो प्रक्रियामा अगाडि बढेको उनले बताए ।

चिनियाँ प्राविधिक र क्यान्सर अस्पतालबीच छलफल भई नक्सा, स्थान छनौटसहित स्वीकृतिका लागि चीनसमक्ष प्रतिवेदन पेश गरिएको छ ।

पेट सिटी स्क्यान र साइक्लोटिन भवन

पेट सिटी स्क्यान र साइक्लोटिन सेवा प्रदान गर्न अस्पतालले मेसिन जडान गर्ने भवन निर्माणका लागि ड्रइङ डिजाइन सहितको माटो परिक्षण र स्थान छनौट गरिसकेको उनले जानकारी दिए ।

फागुनको पहिलो हप्ताभित्र भवन, पेट सिटी स्क्यान र साइक्लोटोन मेसिन खरिद तथा जडानका लागि अन्तर्राष्ट्रिय बोलपत्र गर्ने योजनाका साथ अगाडि बढेकाे उनले बताए । चालु आर्थिक वर्षभित्रै टेण्डर आह्रवान गर्ने अस्पतालको योजना छ ।

अस्पतालले सर्जिकल, मेडिकल तथा रेडियसन अंकोलोजी सेवा, प्याथोलोली सेवा, रेडियोडायग्नोसिस एण्ड इमेजिङ सेवा, न्युक्लियर मेडिसिन सेवा, एजेस्थेसियोलोजी सेवा, प्यालिएटिभ तथा हस्पीस सेवा र क्यान्सर रोकथाम तथा अनुसन्धान सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिकृया दिनुहोस