चितवन मेडिकल कलेजको सेवा अब हेटौंडाको चुरे हिल हस्पिटलबाट पनि

हेटौंडा,३ माघ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको सेवा हेटौंडाको चुरे हिल हस्पिटलबाट पनि पाईने भएको छ । चुरे हिलमा ६० प्रतिशत लगानी गरेर सिएमसीले आजबाट व्यवस्थापन सम्हालेको हो ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको उपचार सेवा अस्पतालबाट शुभारम्भ गरिएको छ । हेटौंडा ११, थानाभ¥याङमा पूर्वपश्चिम राजमार्गसँगै रहेको अस्पतालमा १५ बेडको इमर्जेन्सी (आकस्मिक) सहित तत्काल २५ बेड (शैया) मा सञ्चालन हुने चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाले बताउनुभयो । उहाँका अनुसार छिट्टै एक सय शैयामा जाने गरी तयारी गरिएको छ ।

देवकोटाका अनुसार अस्पतालमा इमर्जेन्सी (आकस्मिक), प्रयोगशाला, फार्मेसी, शल्यक्रिया, प्रसुती, ट्रमा सहित अन्तरंग लगायतका सेवाहरु २४ सैं घण्टा सञ्चालनमा रहने छन् । नेपाल सरकारको स्वास्थ्य बीमाको सुविधा अस्पतालमा रहेको भन्दै उहाँले नेपाल सरकारले विपन्न, सीमान्तकृत, बृद्धबृद्धा लगायतका लागि दिने सुविधा समेत यस अस्पताल पाईने बताउनुभयो ।

अस्पतालमा अत्याधुनिक आईसियू रहने छ । सर्जिकल आईसियू, मेडिकल आईसियू, पोष्टअर्प, अत्याधुनिक शल्यक्रिया कक्षको सुविधा रहेको देवकोटाको भनाई छ ।

अस्पतालमा ट्रमा, न्यूरो सर्जरी, अर्थाेपेडिक्स सर्जरी, जनरल सर्जरी, प्रसुती, मुटु, स्त्री तथा प्रसुती, बाल रोग लगायतका वार्ड रहने देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाले कान्तिपुर हेल्थलाई भन्नुभयो “मुटुको ओपनहर्ट सर्जरी, ट्रमा सेवा, न्यूरो सर्जरी लगायत महत्वपूर्ण उपचार सेवा यहाँ उपलब्ध हुने गरी व्यवस्थापन गर्छाै ।” उहाँले अगाडि थप्नुभयो “हामीसँग सुपरस्पेशलिष्ट डाक्टर हुनुहुन्छ, उहाँहरु हेटौंडा आएर सेवा दिनुहुन्छ ।”

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले चितवन मेडिकल कलेजमा भएका अति विशिष्टिकृत सेवा हेटौंडामा विस्तार गर्न चुरे हिलसँग जोडिएको बताउनुभयो । हेटौंडा लगायत आसपासका क्षेत्रका बिरामी रिफर भएर चितवन र काठमाण्डौं पठाउनु पर्ने बाध्यताको अन्त्य गर्न पनि चुरे हिल आफूहरुले व्यवस्थापन सम्हालेको लम्सालको भनाई छ ।

डा. लम्सालले भन्नुभयो “मुख्य उद्देश्य यहाँका बिरामी अन्यत्र रिफर गर्न नपरोस् भन्ने हो ।” सम्भव भएसम्म यही उपचार गर्ने आफूहरुको लक्ष्य भएको उहाँले बताउनुभयो । चितवनमा भएको विशिष्टिकृत सेवा हेटौंडासम्म ल्याउने सानो प्रयास गरेको भन्दै उहाँले भन्नुभयो “आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको छ ।”

भौतिक पूर्वाधारसँग जनशक्ति व्यवस्थापन गरेर सेवालाई चुस्त बनाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “डाक्टरहरुको व्यवस्थापन उच्च प्राथमिकतामा राख्छौं ।”

दुर्घटनाका बिरामी, नवजात शिशु र प्रसुतीका समस्या यस क्षेत्रमा बढी भएको भन्दै उहाँले यसलाई बुझेर सोही अनुसार व्यवस्थापन गर्ने बताउनुभयो ।



प्रतिकृया दिनुहोस