भरतपुरको पाखुरीचोकमा ३८ जनाले गरे रक्तदान, सहकारी अभियन्ता तिमिल्सिनाले गरे ५५ औँ पटक रक्तदान

चितवन,१५ पुस । भरतपुर महानगरपालिका–१३ पाखुरीचोकमा भएको खुला रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् ।

हिमाल युवा क्लब र उज्ज्वल दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ३४ पुरुष र ४ महिला गरेर ३७ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए । उज्ज्वल दुग्ध उत्पादक सहकारीका अध्यक्ष होमनाथ सुवेदीले मेडिकल सिटीको रुपमा रहेको भरतपुरमा रगतको अभाव नहोस् भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

सोही अवसरमा गीतानगरका भगिरथ तिमिल्सिनाले यस कार्यक्रममा रगत दिएसंगै उनको रक्तदानको रेकर्ड ५५ पटक पुगेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवम् सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार आफूले रगतदान गदैँ सो जानकारी गराएका हुन् ।

भरतपुर ६ को माओवादी केन्द्रको अध्यक्ष समेत रहेका तिमिल्सिनाले वि.सं. २०४५ सालमा पार्टीकै रक्तदान कार्यक्रममा १९ वर्षको उमेर हुदाँ पहिलो पटक रक्तदान गरेको बताउँछन् । पहिलो पटक रक्तदान गरेपछि नियमित रुपमा ३/३ महिनामा रक्तदान गर्दै आएको छु, उनले भने १० वर्षे जनआन्दोलनका समयमा निरन्तर भएन यद्धपछि त्यो बाहेकका दिनमो ३ महिना कट्ना साथ आवश्यक परेकालाई अस्पतालमानै गएर वा रक्तदान भएको ठाउँमानै पुगेर रगत दिने गरेको छु ।

मानव सेवा गर्नु पर्छ भन्ने हिसावले रक्तदान गर्न शुरु गरेपनि अहिले नियमित रक्तदान गर्ने बानी परेको तिमल्सिना बताउछन् ।

क्लबको भवन भरतपुर १३, पाखुरीचोकमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडी रहेका थिए ।

प्रतिकृया दिनुहोस