जाडो बढेसँगै चितवनमा डेंगु सङ्क्रमणमा कमी
भरतपुर । चितवन जिल्लामा डेंगुको सङ्क्रमणमा कमी आउन थालेको छ । मंसिर महिना लागेसँगै डेंगु सङ्क्रमणको संख्या घटेको छ ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म एक हजार ५५९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउनयता, २० हजार ५९० जनाको डेंगु परीक्षण भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवनमा मंसिर १ देखि २१ गतेसम्म ९९ जनामा मात्र डेंगु सङ्क्रमण देखिएको छ । कार्तिक महिनामा करिब ५०० जनामा डेंगु सङ्क्रमित देखिएको थियो । यो मंसिर महिनामा जम्मा ९९ जनामा मात्र डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ‘मंसिर महिना पूरा सकिन बाँकी नै छ, तर डेंगु सङ्क्रमितको संख्या धेरै बढ्दैन, अब सङ्क्रमितको संख्या निकै कम हुँदै जान्छ’ केसीले भने, ‘पुस लागेपछि त सङ्क्रमण शून्यतर्फ झर्ने आकलन गरिएको छ ।’
‘मंसिर महिना लागेसँगै डेंगु सङ्क्रमितको संख्या क्रमशः घट्दै गइरहेको छ’ स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी केसीले भने, ‘असोज कार्तिक महिनामा डेंगु सङ्क्रमण बढी हुन्छ, यी दुई महिना डेंगु फैलिने सिजन नै मानिन्छ । मंसिर लागेसँगै जाडो बढ्छ, त्यसपछि डेंगु सङ्क्रमण फैलाउने लामखुट्टे क्रमशः कमजोर हुँदै जान्छ ।’
स्वास्थ्य कार्यालय चितवनका अनुसार यस आर्थिक वर्षको साउनदेखि यता जिल्लामा एक हजार ५५९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसअवधिमा भरतपुर महानगरपालिकामा ६०२, खैरहनी नगरपालिकामा १७४, माडी नगरपालिकामा २०, रत्ननगर नगरपालिकामा १९४, राप्ती नगरपालिकामा ६७, कालिका नगरपालिकामा २० र इच्छाकामना गाउँपालिकामा ४३ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
चितवनमा डेंगुको सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरुले डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाएका थिए । स्थानीय पालिका, वडा कार्यालयहरुको सक्रियताको कारण डेंगु नियन्त्रणउन्मुख भएको दाबी स्वास्थ्य कार्यालय चितवनले गरेको छ ।
प्रतिकृया दिनुहोस