चितवनका १२ सय विपन्न बालबालिकाकाको स्वास्थ्य परीक्षण

रत्ननगर,९ मंसिर । चितवनका करिब एक हजार दुई सय विपन्न बालवालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले जिल्लाका विभिन्न पालिकामा आयोजना गरेको वाल स्वास्थ्य शिविरमा सीमान्तकृत चेपाङ सहित एक हजार १४१ जना बालवालिकाको स्वास्थ्य परीक्षण गरिएको हो ।

मेडिकल चेक्स फर चिल्डेन नेदरल्याण्डको सहकार्य तथा भरतपुर अस्पतालको प्रविधिक सहयोगमा कालिका,राप्ती,रत्ननगर नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सीमान्तकृत चेपाङ समुदाय सहित विपन्न परिवारका वालवालिकाको स्वास्थ्य सुरक्षाका लागि विदेशी डाक्टर, सरकारी अस्पताल तथा स्थानीय सरकारसंग सहकार्य गरी शिविर आयोजना गरिएको गिरीले बताए । 

सो नगरपालिकाको सिद्धिका दुई स्थानमा ३५० जना, इच्छाकामनाको दुई स्थानमा गरी ४५३, राप्तीको थाकलटारमा २१० र सपना स्कुलमा आयोजना गरिएको शिविरमा १२८ जनाको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि प्रदान गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका चार जना चेपाङ बालवालिकामा मुटुरोगको समस्या देखापरेकोले थप उपचारको लागि जिल्लाका अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा ६ जना विदेशी विशेषज्ञ डाक्टर सहित ७ जना नेपाली विशेषज्ञ डाक्टरहरुले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा इम्प्याक्टका सञ्चालक समिति सदस्य डा. कृष्णप्रसाद पौडेल समेत सहभागी भएका थिए । 

प्रतिकृया दिनुहोस