भरतपुर – २२ का वडाबासीले निःशुल्क रगत पाउने
चितवन,१३ कार्तिक । चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता गरेपछि वडाबासीले निःशुल्क रगत पाउने सुनिश्चित भएको हो ।
निःशुल्क रगतको लागि एक औपचारिक कार्यक्रमकाबीच वडा अध्यक्ष विष्णुराज महतो र सचिव रामकृष्ण पाण्डे, रेडक्रस जिल्ला शाखाका तर्फबाट सभापति हरिप्रसाद पौडेल, मन्त्री राममणी खनाल र प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार रक्तसन्चार केन्द्रले भरतपुर–२२ का वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने छ भने वडा कार्यालयले त्यसको भुक्तानी मासिक रूपमा उपलब्ध गराउने छ । सम्झौता अनुसार उक्त योजनाको अवधि ३ वर्षको हुने उल्लेख छ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । साथै सम्झौता पत्रमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट प्रती युनिट १,३६० हुने उल्लेख समेत गरिएको छ ।
पालिकास्तरमा जिल्लाका अन्यत्र केही पालिकाले यो अभियानको सुरुवात गरेको भएपनि वडास्तरमा भरतपुर महानगरपालिका र चितवन जिल्लाकै पहिलो वडा भरतपुर–२२ भएकोमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवनका कार्यसमिति सदस्य कुमारप्रसाद थपालियाले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सुर्य बहादुर गुरुङ, दिपक पौडेल, जिल्लाका रेडक्रसकर्मी लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस