चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

चितवन,२६ असोज । केही दिनयता चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको  छ । केही दिन अघिसम्म स्थिर रहेको डेङ्गु सङ्क्रमितको सङ्ख्या पछिल्लो दिनमा ह्वात्तै बढेको   हो । 
 
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीका अनुसार साउनदेखि असोज २२ सम्म ६५१ सङ्क्रमित रहेकामा मङ्गलबार ९९ जना थपिएका छन् । चितवन जिल्लामा डेङ्गुको उपचारका क्रममा मकवानपुरका एक पुरुषको मृत्यु भएको छ । लामो समयदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहेका ती पुरुषको सोमबार मृत्यु भएको हो । 
 
सोमबारसम्म आठ हजार ३३२ जनाको परीक्षण गर्दा ६५१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा मङ्गलबार ३४६ जनाको परीक्षणमा ९९ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा चितवनमा सबभन्दा बढी सङ्क्रमित भरतपुर महानगरपालिकामा भेटिएका छन् भने सबभन्दा कम कालिका नगरपालिकामा देखिएको छ । 
 
भरतपुर महानगरपालिकामा भेटिएका २३४ सङ्क्रमितमध्ये १२१ पुरुष र ११३ महिला छन् । रत्ननगरमा ८९ जना सङ्क्रमितमध्ये ४५ पुरुष र ४४ महिला छन् भने खैरहनीमा भेटिएका ७४ सङ्क्रमितमध्ये ४७ पुरुष र ३१ महिला छन् । 
 
त्यस्तै राप्ती नगरपालिकाका ४१ जनामा १९ पुरुष र २२ महिला सङ्क्रमित भएका छन् भने इच्छाकामनामा १७ सङ्क्रमितमध्ये आठ पुरुष र नौ महिला छन् ।  माडीमा १० जनामा चार पुरुष र छ महिला छन् भने र कालिकामा नौ जनामा सात पुरुष र दुई महिला सङ्क्रमित भेटिएका छन् ।
 
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा गरिएको परीक्षणमा ठेगाना नखुलेका ११२ जना (५५ पुरुष र ५७ महिला) डेङ्गु सङ्क्रमित भेटिएका छन् । अन्य जिल्लाबाट ल्याइएका ७९ पुरुष र ८१ महिलाको पनि चितवनमा उपचार भएको छ ।
 
लामो समयदेखि डेङ्गुको भेक्टर कन्ट्रोलर भई कार्यसम्पादन गर्दै आएका सूचना अधिकारी केसीले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम तीव्र हुँदै गएको बताउनुभयो । उहाँले आमसर्वसाधारणले डेङ्गु र यसको रोकथामबारे बुझ्न जरुरी रहेकाले घर वरपरका पानी जम्ने खाल्टाखुल्टी पुर्न, टायर, बोतल, प्लास्टिक कपमा पानी जम्न सक्ने भएकाले जथाभावी नफाल्न आग्रह गर्नुभयो । 
 
“डेङ्गुबाट बच्ने सबभन्दा महत्वपूर्ण उपाय भनेको दिनको समय र साँझ बिहान सक्रिय हुने एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट बच्नु हो । त्यसैले लामखुट्टेका सम्भावित बासस्थान खोजी गरौँ, नष्ट गरौँ,” उहाँले भन्नुभयो ।  
आजको गोरखापत्रमा प्रकाशित

प्रतिकृया दिनुहोस