भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको औषधि दिन छुट्टै काउन्टर सञ्चालनमा

चितवन,२१ असोज । स्वास्थ्य बीमा गरेका बिरामीलाई औषधि दिन भरतपुर अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ। बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो।
 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको थप चाप थेग्नै नसक्ने अवस्था आएकाले बीमाको औषधि दिन थप काउन्टर सुरु गरिएको बताए। पौडेलले भने, 'औषधि लिनुपर्ने बीमाका बिरामीले नियमित सेवन गर्नुपर्ने मधुमेह, उच्च रक्तचाप, दम थाइराइड, कोलेस्ट्रोल लगायतका औषधि डाक्टरबाट लेखाएर सहजै लिन सक्नुहुन्छ।' सो काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने गरेको उनले जानकारी दिए। 
 
धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यता हट्दै जाने विश्वास पौडेलको छ। उनले भने, 'नियमित औषधि लिनेले सामान्यतय एक–एक महिनामै चिकित्सकसँग जाँच गर्नुपर्ने हुँदैन, त्यसैले बिहान ७ बजे नै टिकट लिएर डाक्टरको सिफारिसमा औषधि लिएर जान सकिन्छ।'
 
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार हरेक दिन ९० देखि एक सय ३५ बिरामीले छुट्टै काउन्टरबाट सेवा लिइरहेका छन्। अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन्। हालसम्मको सबैभन्दा बढी बिरामी आएको दिन एकैदिन दुई हजार सात सय ४९ जनाले अस्पतालबाट सेवा लिएका थिए।
 
तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउँछन् भने ३० प्रतिशत बीमा बाहेकका आउने गर्दछन्। बीमाका बिरामीले अरु व्यक्तिको कार्ड लिएर सेवा लिने गरेको पाइएपछि निगरानी बढाइएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...