पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौं,२७ भदौ ।  किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि  खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नुहुने छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिए । उनका अनुसार ६ प्रदेशका ६ वटा अस्पतालमा र बिहीबार कोसी प्रदेशको कोसी अस्पतालबाट किशोरीलाई ‘एचपीभी’ खोप दिइने बताए ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, वाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा ‘एचपीभी’ खोप लगाइनेछ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । शाखाका प्रमुख डा. गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्याइसकेको बताए । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । 

महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको ‘एचपीभी’ खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्छ । 

सरकारी तथ्यांकनुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार २४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार ४९३ (६६ दशमलव पाँच प्रतिशत)को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ ।  

‘एचपीभी’ खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ । - रासस

प्रतिकृया दिनुहोस