चितवनमा डेँगु संक्रमितको संख्या २०० कट्यो
चितवन,१७ भदौ । चितवनमा डेँगु संक्रमितको संख्या २०० कटेको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज प्रकाशित गरेको तथ्यांक अनुसार चितवनमा डेँगु संक्रमितको संख्या २०६ जना पुगेको हो । साउन १ देखि भदौं १७ गतेसम्म परीक्षण गराउने मध्ये सो संख्यामा संक्रमितहरु भेटिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार बिगत २४ घण्टामा ४ जना संक्रमित भएका छन् । संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाका ५८ जना, खैरहनी नगरपालिकाका १४ जना, माडी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकामा ३१ जना, राप्ती नगरपालिकामा २१ जना, कालिकामा ४ जना र इच्छाकामनाका २ जना रहेका छन् । त्यसैगरी चितवनमा भेटिएका संक्रमितहरु मध्ये ठेगाना नखुलेका १७ जना र अन्य जिल्लाबाट आएका ५६ जना रहेका छन् ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले चितवनमा डेँगुको संक्रमण निरन्तर बढ्दै गएकोले सावधानी अपनाउन सुझाव दिएका छन् । उनले गर्मी बढी हुदा लामखुट्टेको वृद्धि र विकास कम भएको थियो तर अहिले मौसम केही शीतल भएकोले यसको वृद्धि हुने सम्भावना बढी रहेको बताए । डा पौडेलले भने, ‘डेँगु संक्रमणका चार प्रकारमध्ये अघिल्लो वर्ष टोकेको भन्दा फरक प्रकारले टोकेमा संक्रमितलाई निकै जटिल बनाउँछ । त्यसकारणले सावधानी अपानाउनुपर्छ । घरवरिपरी पानी जम्ने वस्तुहरु केही भए हटाउनुपर्छ । ’ उनले दुई वर्षमा संक्रमण बढ्नै अवस्था रहेकोले डेँगुको प्रकोप अर्काे साल धेरै बढ्ने सम्भावना रहेको बताए ।
प्रतिकृया दिनुहोस