‘मेरो पोषण साथी’ मोबाइल एपको स्वास्थ्य मन्त्रीद्वारा शुभारम्भ

काठमाडौं,१० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा दुई वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ गरेका छन् । 

यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरूको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्त्वपूर्ण भएको बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किन कि त्यसमा पौष्टिक तत्त्व हुन्छ । तर, आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’

नेपाली प्रयोगकर्ता मैत्री एपले दर्ता गर्दा दिइएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारहरूको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ । 

प्रतिकृया दिनुहोस