भरतपुर आँखा अस्पतालमा घटे आँखाका बिरामी

चितवन,३० साउन । आँखा पाक्ने रोग फैलिएपछि एकाएक बृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनहरुमा घट्दै गएको छ । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको हो ।

अस्पताल जाने मध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । भरतपुर आँखा अस्पतालका बरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अघिल्लो हप्ताभन्दा यस हप्ता बिरामीको संख्यामा कमी आएको छ । उहाँले अस्पताल आउने ६० प्रतिशत हाराहारी बिरामी आँखा पाक्ने रोगका रहेका जानकारी दिनुभयो । आँखा पाक्ने रोगका बिरामीको संख्या समेत घट्दै गएको उहाँको भनाई छ ।

गएको हप्ता जिल्लाका शिक्षण संस्था समेत बन्द रहेका थिए । विद्यालय बन्द भएको समय पारेर धेरै बिरामी अस्पताल आएको उहाँको भनाई छ । चौधरीले भन्नुभयो “घरमा एउटाले परीक्षण गरेपछि त्यही औषधि पसलबाट किनेर प्रयोग गरेको समेत पाईएको छ, जसले गर्दा परीक्षण गराउन आउनेहरुको संख्या घटेको हो ।” यसरी परीक्षण नै नगरी एउटाले प्रयोग गरेको औषधि अर्काेले प्रयोग गर्न नहुने चिकित्सकलाई उदृत गर्दै चौधरीले बताउनुभयो ।

चिकित्सकहरुले आँखा पाक्ने बिरामीको उमेर, बिरामीको अवस्था हेरी फरक फरक औषधि प्रयोग गर्नुपर्ने बताउँछन् । चिकित्सकसँग परामर्श नगरी एउटा औषधि सबैले प्रयोग गर्न नहुने उनीहरुको सुझाव छ ।

भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा हिजो सोमबार एक हजार ४२१ जना बिरामी उपचारका लागि आएका थिए । जसमध्ये ८३१ जना आँखा पाक्ने (कन्जिक्न्टिवाईटिस) का बिरामी छन् । समग्रमा ५८.४८ प्रतिशत बिरामी आँखा पाक्ने रोगका रहेका छन् ।

भरतपुरमा रहेको मुख्य अस्पतालमा ५४६ बहिरंग (ओपिडी) का बिरामी आएकोमा १६६ जना आँखा पाक्ने रोगका रहेका छन् । यस हिसाबले ३०.४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् । सेकेण्डरी आँखा अस्पताल ठोरीमा २२० जना बिरामी मध्ये १४४ जना (६५.४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा १०४ जना बिरामी मध्ये ८२ जना (७८.८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन् । सिम्रनगढ, रत्ननगर, माडी, चनौली, राप्ती, कुरिनटार, धादिङको बेनिघाट, सल्यानटार, नवलपरासीको मध्यविन्दु, हुप्सेकोट, कावासोती, सिन्धुलीको दूधौली, तनहुँको आँबु खैरहनी र सर्लाहीमा रहेका आँखा उपचार केन्द्रमा गरी ५५१ बिरामी ओपिडिमा आएका मध्ये् ४३९ जना (७९.६७ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

आईतबार एक हजार १९८ बिरामी ओपिडिमा आएकामध्ये ७१८ जना (५९.९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिनुभयो ।

अघिल्लो आईतबार अस्पताल र मातहतका केन्द्रहरुमा २ हजार ३५७ जनाले सेवा लिएका थिए । त्यस मध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका थिए ।

प्रतिकृया दिनुहोस