जेष्ठ नागरीकको लागी यातायातमा छुटको व्यवस्था कार्यान्वयन गराउन स्थानिय निकायले समेत पहल गर्नुपर्ने ः मन्त्री रेग्मी
चितवन ,१२ अषार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री उमा रेग्मीले जेष्ठ अशक्त र ओछ्यानमा परेका जेष्ठ नागरीकलाई घर घरमा सामाजिक सुरक्षा भत्ता दिनका लागी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ । आज चितवनको भरतपुरमा नमुना कल्याणकारी आश्रमले आयोजना गरेको जेष्ठ नागरीक सम्मान कार्यक्रमलाई संबोधन गर्दै मन्त्री रेग्मीले भत्ता लिन जान नसक्ने जेष्ठ नागरीकलाई घरमा नै भत्ता पुर्याउन नसकेमा उनीहरुले त्यसको उपभोग गर्न नसक्ने भएकाले मन्त्रालयले संम्बन्धित स्थानिय सरकारलाई यसको व्यवस्थापनको लागी निर्देशन दिन लागेको बताउनु भयो । जेष्ठ नागरीकको लागी राज्यले यसअघि नै घोषणा गरिसकेको यातायातमा छुटको व्यवस्था कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री रेग्मीले यसको कार्यान्वयनका लागी यातायात व्यवसायीसँग बिशेष छलफल गरि जेष्ठ नागरीक आरक्षण सीट र भाडामा छुटको व्यवस्था कार्यान्वयन गराउन सबै स्थानिय निकायले समेत पहल गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले जेष्ठ नागरीकको अनुभव र क्षमता नयाँ पुस्तामा हस्तान्तरण गर्र्दै उहाँहरुको उचित पालन पोषण गर्नु परिवार, समाज र राज्यको समेत दायीत्व भएकाले आफु यस बिषयमा गंभिर रहेको बताउनु भयो । जेष्ठ नागरीकको हक हितका लागी बनेका नीती तथा कानुनी अधिकारहरु कार्यान्वयनका लागी भरतपुर महानगर प्रतिवद्ध भएको उहाँले बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका बडा नं ५ का बिभिन्न टोलमा बस्ने ८५ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ । नमुना कल्याणकारी आश्रमका कार्यवाहक अध्यक्ष छली कुमारी शर्माको अध्यक्षतामा भएको सो कार्यक्रम मा वडा ५ का अध्यक्ष युद्ध कुमार श्रेष्ठ ,आश्रम का आजीवन सदस्य ठाकुर कुमारी पौडेल ,सो आश्रम रहेको टोल विकासका अध्यक्ष नारायण वंशी लगायतले वोल्नु भएको थियो। आश्रमका उपाध्यक्ष क्या,टिकाराम उपाध्यायले स्वागत मन्त्वय दिनुभएको कार्यक्रम आश्रमका महेश प्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो।कार्यक्रम आश्रमका सस्थापक सगै महानगर प्रमुख सहित वडाका नवनिर्वाचित वडा समिति का लाई पनि सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस