जात्रापर्व विना बाजागाजा घन्कीयो भक्तपुरमा

 

फागुन, २८, भक्तपुर । भक्तपुरमा शुक्रबार कुनै जात्रापर्व थिएन। तर पनि दिनभर गाइजात्रालगायतका पर्वमा जस्तै भक्तपुर नगर बाजागाजाले गुन्जायमान बन्यो। भक्तपुर नगरव्यापी पछिमा बाजा (एक प्रकारको बाजा) प्रतियोगिताका कारण नगर दिनभर बाजागाजामय भएको हो। बाजा बजाएर नगरभरि परिक्रमा भएका कारण सवैतिर बाजागाजामय भएको हो।भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी पछिमा बाजा प्रतियोगिता २०७८ भएको थियो। प्रतियोगिताका साँस्कृतिक टोलीहरु भक्तपुर नगरपालिका वडा नं ३ दतात्रयमा विहान १० बजे नै भेला भई बाजा बजाउन सुरु गरेका थिए। त्यहाँबाट बाजा बजाई उनीहरुले नगर परिक्रमा गरेका थिए। 

र्‍याली दतात्रयबाट सुरु भएको थियो। दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो। दूरी कायम गरी बाजा बजाई नगर परिक्रमा गर्न लगाएका कारण नगरभरि सवैतिर घण्टौसम्म बाजागाजामय भएको थियो। भक्तपुर नगरपालिका वडा नं ३ दरवार क्षेत्रमा पुगेपछि उनीहरु सवै टोलीले पालैपालो मञ्चमा गई बाजा बजाएका थिए। प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म गरी नगरभित्रका ३५ वटा पछिमा बाजा समूहहरुले सहभागिताका लागि नाम दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएको आयोजकले जनाएको छ। 

दरवार क्षेत्रको मञ्चमा सवै टोली पुगेपछि गोलाप्रथाद्धारा प्रत्येक टोलीलाई ६।६ मिनेटका समय दिई बाजा बजाउन लगाएको थियो। बाजा प्रतियोगित हेर्न दरवार क्षेत्रमा दिनभर हजारौ नगरबासीको सहभागिता रहेको थियो। प्रतियोगिता साँझ मात्रै सकिएको थियो।  

यसअघि प्रतियोगिताको उद्घाटन गरिएको थियो। नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर र्‍यालीको उदघाटन गरेका थिए। र्‍याली सुरु हुनु अघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए।

र्‍यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, 

नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरु, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरु र सहभागी सांस्कृतिक टोलीहरुको सहभागिता रहेको थियो।

दरवार क्षेत्रमा पुगेपछि फेरि प्रतियोगिताको उदघाटन गरिएको थियो। प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए।

प्रतियोगिताका विजयी साँस्कृतिक टोलीहरुलाई शुक्रबार साँझ नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५ हजारकाका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, तृतीय पुरस्कार – नगद रु. १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, दुई वटा सान्त्वना पुरस्कार – नगद रु. पाँच/पाँच हजारका साथै पछिमा १/१ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १/१ थान प्रदान गरिएको थियो। उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक समारोहवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा ७ जनाको टोली निर्णायक मण्डलको रुपमा थिए। उनीहरु मञ्चका साथै नगर परिक्रमाका क्रममा पनि विभिन्न तीन ठाउँहरुमा वसेर मूल्यांकन गरेका थिए। बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउ र प्रस्तुतिमा १०, समयको परिपालनामा पाँच र अनुशाशनमा पाँच गरी मञ्चमा कुल ८० र बाहिर नगर परिक्रमा गर्दा २० गरी कुल एक सय नम्वर राखेर मूल्यांकनको नियम बनाइएको थियो। टोलीमा पछिमा, बासुरी, हार्मोनियम, तँ प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ स्थित नास हैमा बाजा खलः प्रथम, भक्तपुर नगरपालिका वडा नं ५ स्थ्ति खिछेँ दाफा भजन खलः द्वितीय, भक्तपुर नगरपालिका वडा नं ९ स्थित तचपाल मको गल्ली बाजा समूह तृतीय र भक्तपुर नगरपालिका वडा नं ७ स्थित सिद्धिगणेश बांसुरी बाजा समूह तथा भक्तपुर नगरपालिका वडा नं ६ स्थित श्री चोछें छुमा गणेश बांसुरी बाजा खलले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो।https://nagariknews.nagariknetwork.com/social-affairs/764971-1647010630.html

प्रतिकृया दिनुहोस