धर्ममा महिलाको चासो र संलग्नता

 

धर्म–संस्कृति र समाजमा महिलालाई कम आँकिएको देखिए पनि किन महिला चुप छन् भन्ने प्रश्न उठ्न सक्छ। तर त्यस्तो होइन, समय समयमा महिलाले आवाज उठाउँदै आएका छन्, अझै पनि विभिन्न तह–तप्कामा बहस भइरहेका छन्। नेपालमा धर्मभित्रै पनि असमानताको विषयलाई लिएर योगमाया न्यौपानेले गरेको सत्याग्रहलाई उदाहरणका रूपमा लिन सकिन्छ। योगमाया एक धार्मिक नेता र कवि थिइन्। त्यतिबेलाको हुकुमी र पितृसत्ताले महिलालाई उठ्नै नदिएको अवस्थामा योगमायाले एक विद्रोही धार्मिक नेताको छवि बनाउन सफल भएकी थिइन्। उनको योगवाणी भन्ने कविता संग्रहले त्यतिबेलाको राणा शासनकालमा महिला दमनको विषयलाई उजागर गरेको थियो।  

राणाशासन, पञ्चायती व्यवस्थाविरुद्ध तथा प्रजातन्त्र र लोकतन्त्रका खातिर त महिलाको योगदान प्रशस्तै छ नेपालमा। तर, तिनै राजनीतिमा सक्रिय र आफूलाई वैज्ञानिक र प्रगतिशील भन्ने पार्टी सम्बद्ध महिला नै धर्म तथा संस्कृतिका अवैज्ञानिक पक्ष केलाएर यी गलत छन्, यस्ता परम्परामा व्यापक सुधार गर्नुपर्छ, या यो परम्परा छोड्नुपर्छ भनेर आवाज उठाएको पाइँदैन। उदाहरणका रूपमा तीजका व्रत, छाउपडी प्रथा, महिनावारी, बिहेबारीमा कन्यादान आदि। यी उल्लेख गरिएका परम्परा उही धर्ममा गएर जोडिएका छन्।  

यिनै धर्म–संस्कृतिमा भएका विभेद केलाउने त्यस विषयमा बोल्ने सन्दर्भमा भने महिलाहरूबीच नै एकमत हुन सकेको छैन। लामो समयदेखि भएको सामाजिक अभ्यास अनुरूप कतिपय महिलाले आफूमाथिको विभेद र उत्पीडनलाई नियमित प्रक्रिया जस्तो ठानेको पनि पाइन्छ। गरिबी, अशिक्षा, राजनीति र शासन–प्रशासनमा कम पहुँच आदि कारण महिलाले आफू हेपिएको हेक्का राख्न सकिरहेका हुँदैनन्। कतिपय अवस्थामा महिलाले हिन्दू धर्मका आध्यात्मिक पाटोलाई अँगालेसँगै आफ्ना जीवनका दुःख–पीडा भुलेको, मन आनन्दित भएको, अलौकिक शक्ति प्राप्त गरेको पनि बताउँछन्। कतिपय सचेत भइसकेका महिलाले पनि ‘आखिर प्राचीनकालदेखि नै समूहमा बस्दै जाँदा परिवारमै पनि पुरुष सदस्यलाई मुखिया बनाउँदै आइएको रहेछ, के भो त समाजलाई बिग्रन नदिन, अनुशासनमा राख्न पनि एकजना त मुखिया बन्नैपर्छ। त्यसैले परिवारको पुरुष सदस्य बाबु अर्थात् श्रीमान् या छोरालाई नै त्यो अधिकार दिए भइहाल्छ नि’ भन्ने गरेको पनि पाइयो। प्रायः मानिस आध्यात्मिक चिन्तन विकृत हुने, अन्य धर्मले जरो गाड्ने, आफ्ना धर्म–संस्कृति मासिने, समाज भाँडिनेजस्ता तर्कले पनि धार्मिक ग्रन्थ र चालचलनप्रति बोल्न चाहँदैनन्। धर्म भनेको न्याय पनि हो भनिन्छ, तर त्यही धर्ममा मान्छे–मान्छेबीच विभेद, महिला–पुरुषबीच विभेद देखेर भोगेर आएका पनि छौँ। एक प्रकारले सोच्ने हो भने धर्म एक अमूक परिकल्पना हो। समाजमा राज्य व्यवस्था, संविधान, कानुन, नीति–नियम बनिसक्दा पनि समाजले महिलालाई या पिछडिएका वर्गलाई त्यही पाप र धर्म, हुने र नहुनेकै नजरले हेरिरहनु र त्यस्तै व्यवहार गरिरहनु भनेको पछौटे समाजकै पक्षमा हिँडिरहनु हो।  

धर्म र संस्कृति एकअर्कासँग सम्बन्धित छन्। हिन्दू संस्कृति वा परम्परा पहुँचवालाको स्वार्थ अनुसार प्र्रयोग र व्याख्या हुन जाँदा महिला तथा बालिका अझ प्रताडीत हुन पुगेका छन्। हाम्रा परम्परा, सामाजिक चलनहरू वास्तविक जीवनसँग गाँसिएरभन्दा पनि धार्मिक साहित्यिक ग्रन्थलाई जोडेर विकसित भएका छन्। समानता सबैलाई प्रिय लाग्छ, तर मान्छेको स्वभाव सकभर हिंसा लडाइँ गर्न नपरोस् भन्नेमै केन्द्रित हुन्छ। त्यसमाथि महिलाहरू आफ्ना सन्तानका खातिर कतिपय सामाजिक पारिवारिक हिंसा वा भेदभाव सहेरै बस्न तयार हुन्छन्। पुँजीवादी अर्थ–व्यवस्था र व्यक्तिगत सम्पत्तिको मोहजालले पनि महिलाहरू भइरहेकै व्यवस्थामा अभ्यस्त जीवन बिताइरहेको पाइन्छ। उनीहरू अझै पनि कुनै घटना तथा विषयमाथि स्वतन्त्र विचार राख्न वा त्यस्तो विचार बनाउन आफूलाई स्वतन्त्र महसुस गर्दैनन्। विद्यालय तहदेखिकै पुस्तकमा ठूलाले भनेको मान्नुपर्छ, ठूला मान्छेसँग मुख लाग्नु हुँदैन भन्ने शिक्षा दिइन्छ। तर, ठूलो को हो वा के हो भन्ने स्पष्ट रूपमा बताइँदैन। यसरी धेरै अस्पष्टताबीच आजका बालबालिका हुर्कन्छन्। यस्तो परिस्थितिमा महिला मात्रै होइन, कुनै पनि विभेदमा परेको व्यक्तिले स्पष्ट आवाज उठाउन नसक्ने हुन्छ। यद्यपि, पछिल्ला बहस, राजनीतिक परिवर्तनले मानिसलाई आफ्नो अधिकारका लागि आवाज उठाउन प्रेरित गरेका छन्। आशा गरौँ, धर्म–संस्कृतिका विकृति हटाएर हाम्रो समाज अगाडि बढ्नेछ।

प्रतिकृया दिनुहोस