चिसोका कारण बेलझुण्डी गौशालाका १५ गाई मरे
फाउन्डेशनका अध्यक्ष अनिल विष्टले अहिले गौशालामा निर्माण गरिएको ट्रष्टमा दुई सय वटा मात्रै गाई राख्न मिल्नेमा जथाभावी रुपमा गौशालामा गाई ल्याएर छाडेका कारण समस्या भएको बताउनुभयो ।
तुलसीपुर १८ बेलझुण्डीमा रहेको गौशालामा चिसोका कारण १५ वटा गाई मरेका छन् । योगी आदित्यनाथ फाउन्डेसनले सञ्चालनमा ल्याएको गौशालामा क्षमताभन्दा बढी गाई राख्दा लगातार परेको वर्षा पानीले चिसो भएर गाई मरेको स्थानीयको भनाई छ । गाई मरेपछि जिल्लास्थित प्रशासनिक नेतृत्व टोलीले अनुगमन गरेको छ ।
पोस्टमार्टम विवरणमा अत्यधिक चिसोका कारण निमोनिया भएर वृद्व गाई मरेको पोस्टमार्टममा संलग्न भेटेरीनरी डाक्टर मनोज वलीले बताउनुभयो । डाक्टर वलीले गौशालामा क्षमताबन्दा बढी गाई राख्दा चिसोका कारण एउटै ठाउँमा सबै गाईवस्तु ओत लाग्न खोज्दा च्यापिएर समेत मरेको हुनसक्ने बताइएको छ ।
भेटेरीनेरी अस्पतालका पशुविज्ञ केन्द्र घोराही र तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको पशु शाखा कार्यालयका डाक्टरसहितको टोलीले मरेका गाईहरुको पोस्टमार्टम गरेको थियो । डाक्टर वलीले मौसममा सुधार आएसँगै अन्य गाईमा कुनै समस्या नरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले क्षमताभन्दा बढी गाई नराख्न र व्यवस्थापन पक्षलाई सुधार गरेर मात्रै केन्द्र सञ्चालन गर्न निर्देशक दिएको केन्द्रका अध्यक्ष अनिल विष्टले बताउनुभयो ।
फाउन्डेशनका अध्यक्ष अनिल विष्टले अहिले गौशालामा निर्माण गरिएको ट्रष्टमा दुई सय वटा मात्रै गाई राख्न मिल्नेमा जथाभावी रुपमा गौशालामा गाई ल्याएर छाडेका कारण समस्या भएको बताउनुभयो । अहिले गौशालामा तीन सय बढी गाईवस्तु रहेका छन् । अध्यक्ष विष्टले थप अर्को ट्रस्ट निर्माधीन अवस्थामा रहेकाले तत्काल थप गाई राख्न नसकिने बताउनुभयो ।
केन्द्रमा रहेको साइलेन्स घाँस र परालको अभाव रहेकाले जिल्लाका विभिन्न ठाउँबाट घाँस पराल संकलनको जोहो भइरहेको अध्यक्ष विष्टले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयको ४५ बिघा क्षेत्रफलमा गौशालाका लागि जग्गा फाउन्डेशनले लिजमा लिएको छ भने तीन कठ्ठा जग्गामा ट्रस्ट निर्माण गर्न थालेको छ । फाउन्डेनले जग्गा उपभोग गरेबापत् वार्षिक ९ लाख ६३ हजार रुपियाँ विश्वविद्यालयलाई भुक्तानी गर्ने जनाएको छ ।पिपलबाेटबाट
प्रतिकृया दिनुहोस