कालिञ्चोक धार्मिक क्षेत्रमा घुम्ने हिउँ खेल्नेको भिड

कालिञ्चोक,२६ पुस,  । दर्जनौं हिमालका समिपमा रहेको कालिञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उँचाइमा रहेको दोलखा जिल्लाको कालिञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ ।

केही समय अगाडि कालिञ्चोक सहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालिञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् ।

कालिञ्चोक कुरी बजारमा रहेको डिकी होटलका सञ्चालक राम तामाङ भन्छन्, ‘हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नुहुँदैन ।’कालिञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमशृङ्खलाको कारण पनि कालिञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँ नै हिउँको पहाडमा रहेकी कालिञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।

कसरी पुग्ने कालिञ्चोक ?

काठमाडौंबाट करीब १३८ किलोमिटरको यात्रा पछि कालिञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न ५ देखि ६ घण्टासम्म लाग्ने गर्छ ।

भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाडीचौर, मुडे र दोलखाको खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालिञ्चोक पुगिन्छ ।  चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालिञ्चोकको कुरी बजार पुग्न सकिन्छ ।

हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ । त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जीपको सहायताले कुरी बजार पुग्न सकिन्छ ।

कुरीबाट केबुलकार मार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ । यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छूट छ ।

कुरीबाट कालिञ्चोक मन्दिरसम्म हिंडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ ।रासस

 

प्रतिकृया दिनुहोस