चतुर्मास भनेको के हो ? यस्तो छ धार्मिक तथा बैज्ञानिक महत्व
हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । तन र मनको शुद्धी, उपवास, ध्यान–साधना, दान–दक्षिणा, पूजा–आराधनाको महिना अर्थात चतुर्मास ।
चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् । सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।
विष्णुको शयनकाल
धार्मिक कथन अनुसार चतुर्मासलाई भगवान विष्णुको शयनकाल मानिन्छ । यस क्रममा भगवान विष्णु योग निद्रामा रहन्छन् । यही कारण यो चार महिनामा विवाह, यज्ञ आदि जस्ता मांगलिक कार्य वर्जित हुन्छ । यस क्रममा घर निर्माण प्रारम्भ, गृह प्रवेश, नयाँ व्यवसायको थालनी, सवारी साधनको खरिद बिक्री आदि भने गर्न सकिन्छ ।
चतुर्मासको महत्व जैन र बौद्ध धर्ममा पनि मानिन्छ । चतुर्मासमा जैन मुनि भ्रमण बन्द गरेर एकै स्थानमा निवास गर्छ भन्ने धार्मिक विश्वास छ ।
शिवको आराधना
धर्म शास्त्र अनुसार सृष्टिको संचालनको काम विष्णुको हातमा हुन्छ । यद्यपि यतिबेला उनको शयनकाल चल्ने हुँदा सृष्टि संचालनको कार्यभार भगवान शिवलाई दिइन्छ । यही कारण धार्मिक विधान अनुसार साउन महिनामा शिव भगवानको पूजा, आराधना गरिन्छ । श्रद्धालुहरु उपवास गर्छन् । आफ्नो शरीर र मनलाई शुद्ध राख्छन् । सात्विक भोजन गर्छन् ।
श्रावण महिनाभर भगवान शिवमा समर्पित रहेर पूजाआजा गरिन्छ । त्यसपछि भदौ महिनामा दश दिनसम्म श्रीगणेशको जन्मोत्सव मनाइन्छ । असोज महिनामा देवी दुर्गाको आराधना गरिन्छ ।
चतुर्मासको विज्ञान
चतुर्मासको महत्व केवल धार्मिक मात्र छैन, वैज्ञानिक दृष्टिले पनि यो चार महिना खानपानमा अत्याधिक सावधानी अपनाउनुपर्ने हुन्छ । यो चार महिना वर्षाको याम हो । यस समय हावा ओसिलो हुन्छ र यसैको कारण व्याक्टेरियाको संक्रमण हुने जोखिम बढ्छ । सागसब्जी, पानी आदिबाट ब्याक्टेरिया फैलन सक्छ । यही कारण यो चार महिना हरियो सागसब्जी खान पनि उचित मानिदैन ।
साथसाथै यो सिजनमा पाचनशक्ति कमजोर हुन्छ । अतः सन्तुलित, हल्का, सुपाच्य भोजन गर्ने सुझाव दिइन्छ ।
यो चार महिना खानपान र जीवनशैलीमा संयमित अपनाउनुपर्छ । सन्तुलन कायम गर्नुपर्छ । उठ्ने, सुत्ने क्रममा होस् वा खानपानमा एकरुपता हुनुपर्छ । विहान सबेरै उठ्ने, शरीरलाई शुद्ध गर्ने, पूजा–आराधना गर्ने, ध्यान साधना गर्ने, उपवास बस्ने गर्नुपर्छ । - Onlinekhabar को सहयोगमा
प्रतिकृया दिनुहोस