नेपालमा अनदी धानको यस्तो छ महत्व

रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण र व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ। रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ। धान जातिका रैथाने बालीहरू जस्तै मन्सुली, मनहरा, तिल्की, चन्नचुर, मानामुरी, ठिमाहा, अनदी, लक्का बास्मति, जोरायलो बास्मति, गौरिया, आदि देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन्। तीमध्ये एक हो अनदी धान। यसलाई पकाएपछि टाँसिने गुण हुने भएकाले टाँसिने खालको धान भनिन्छ।

वास्तवमा नै भन्नु पर्दा अनदी धान परम्परागत रूपमा रोपिने एक मात्र लचिलो धान हो। यसलाई धेरै हदसम्म नेपालको पश्चिमी क्षेत्रमा रोपिन्छ। यसबाट लट्टे, खट्टे, हलुवा र खिर जस्ता लोकप्रिय खाद्य तयार पारिन्छ। यसबाट तयार हुने टाँसिने तरल पदार्थले टुटेको हड्डीको उपचारमा प्रयोग गरिने साथै मांसपेशी बलियो र मांसपेशी दुखाइ कम गर्न प्रयोग गरिन्छ। तर अहिले यो धान लोपोन्मुख अवस्थामा छ। उत्पादनका दृष्टिकोणबाट नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि अनदी र अन्य रैथाने जातको धानहरू लोपोन्मुख हुँदै गएको हो। यसको बेलैमा संरक्षण नगर्ने हो भने चाँडै नै मासिने छ। यो धानको संरक्षणका लागि सरकारी निकायले स्थानीय तहबाट नै कृषकहरूलाई उक्त धानको बिउ सहज उपलब्ध गराउनु पर्दछ।

रैथाने बाली व्यावसायीकरणका लागि ठोस कार्यक्रम नहुँदा यस्ता बाली संरक्षणमा आशातित प्रगति हुन सकेको छैन। रैथाने बालीमा पाइने पौष्टिक तथा औषधिजन्य महत्त्वबारे उपभोक्तामा जागरुकता ल्याउनु आवश्यक छ।

रैथाने बालीको परिचय
रैथाने बाली भनेको स्थानीय हावापानी अनुकूलका जस्तै सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि रोग, किरा सहन सक्ने बाली भनेर बुझिन्छ। उक्त बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहारा साथै औषधीजन्य प्रयोजनका लागिसमेत प्रयोग गरिन्छ। यसका साथै देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान सावित छ र बाली विविधीकरणका लागि महत्त्वपूर्ण मानिन्छन्।

अनदी रैथाने बालीमध्येको धान जाति हो। यो खानलाई एकदमै नरम, स्वादिलो, स्वस्थकर, मीठो र सूक्ष्म सुगन्धित स्वाद हुन्छ। यो जातको धानमा एमाइलोज नहुने र अमाइलोपेक्टिनको मात्रा अत्याधिक हुने भएकाले टाँसिने गुणका लागि जिम्मेवारी छ, जसले गर्दा अरू धानहरूबाट छुटाउन सकिन्छ। यो दुई किसिमको हुन्छ– रातो अनदी र सेतो अनदी। यदि हामीले यी दुईखालका अनदीलाई संयोजन गरेर एउटा समूह मान्ने हो भने अनदी क्षेत्रफलको हिसाबले सबैभन्दा बढी रोपिने धान हो। हरित क्रान्तिको बेलामा एसियाभर नै सुधारिएको धानको जातहरू अपनाइएको थियो, जुन चाहिँ गैर–लचिलो थिए तर लाओ कृषकहरूले त्यसलाई अस्वीकार गरेर आफ्नै परम्परागत टाँसिने जातको धानलाई प्राथमिकता दिएका थिए। पौराणिक कथा अनुसार यो खालको धान चीनको ग्रेटवालको निर्माणका लागि मोर्टारको रूपमा प्रयोग गरिएको थियो।

बाली प्रजनन् र सुधारका लागि महत्त्वपूर्ण
रैथाने बालीहरू आफैंमा छुट्टै महत्त्व बोकेका हुन्छन्। खाद्य तथा पोषण सुरक्षा, बाली प्रजनन् र सुधारका लागि महत्त्वपूर्ण मानिन्छन्। रैथाने जातका धानका बिउमध्ये कसैले चिसो सहन्छन् भने कसैले अत्याधिक गर्मी सहन्छन्। तर, उन्नत जातका बिउले धेरै चिसो र धेरै गर्मी कुनै पनि सहन सक्दैनन्। र, खडेरी प¥यो भने उन्नत जातका बिउ सबै मासिने खतरा रहन्छ। त्यसकारण पनि रैथाने जातका धानलाई भविष्यका लागि खाद्य सुरक्षाका बिमाका रूपमा लिइन्छ।

अनदीको थुप्रै फाइदाहरू छन्। यसमा अन्नसारको मात्र एकदमै हुन्छ र औषधीजन्य रूपमा धेरै फाइदाजनक छ। पकाइएको अनदीको भात भर्खरै सुत्केरी भएका महिलाहरूलाई खुवाइन्छ र भिजाइएको अनदी चामलबाट आउने पानी औषधिजन्य हुने भएको मानिसहरूले पिउने गर्छन्। एउटा साधारण उखान छ (सबैमा राजा, अनदीको खाजा) अर्थात् अरूभन्दा अनदी एक नम्बर। अनदी चामलबाट थुप्रै स्थानीय भोजन जस्तै लट्टे, खुट्टे, खिर, सेलरोटी, सिरौला, हलुवा, आदि बनाइन्छ। रातभर भिजाइएको अनदी चामललाई घिउमा पकाएर लट्टे तयार गरिन्छ। त्यसमा किसिएको नरिवल, मेथी, मक्खन, चिनी वा खुदो पनि मिसाइन्छ। अरू चामललाई पकाए जस्तो यसलाई पकाउँदा पानी हाल्नु पर्दैन। लट्टे विशेष गरेर साउने संक्रान्ति र १५ पुसको दिन खाइन्छ।

खट्टे बनाउन पनि अनदी चामललाई पानीमा हल्का भिजाएर भुटिन्छ, जुन चियासँग खाजा खाइन्छ। अनदी चामलबाट बन्ने सबैभन्दा प्रख्यात नेपाली परिकार भनेको सेलरोटी हो। अनदी चामलको पिठोलाई घिउ वा तेलमा हालेर बनाइन्छ, जुन प्रायःजसो चाडपर्वहरूमा जस्तै दसैं, तिहार साथै विवाह, ब्रतबन्ध, श्राद्ध आदिमा पकाइन्छ। अनदी धानको चामल र पिठोको विशेष परिकार देवतालाई चढाउनुपर्ने मान्यताले थारु समुदायमा यसको विशेष महत्त्व छ र रोप्ने चलन छ। अनदी लगायत अन्य रैथाने जातका धानहरू खानका लागि मिठो हुने, बिरामी परेका बेला तागत दिने र हाइब्रिड भन्दा स्वास्थका लागि दस गुना राम्रो हुन्छ।

किन लोपोन्मुख हुँदै ?
नेपालमा १४ हजारदेखि १५ हजार हेक्टर जमिनमा धान खेती हुन्छ। यी खेतमा ९६ प्रतिशत उन्नत धानका बिउ रोपिन्छ भने ४ प्रतिशत मात्र रैथाने धानका बिउ रोपिन्छ। यसो हुनुको कारणहरू रैथाने जातको धान जस्तै अनदी थोरै फल्ने, पाक्नलाई बढी समय लाग्ने, बिउ पाउन मुस्किल हुने, आदिले गर्दा हो। धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा कृषकको ध्यान छ। नेपालमा पछिल्लो समय जनसंख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा कृषक रहेका छन्।

प्रदेश र पालिकाहरूका लागि आवश्यक बिउ आपूर्तिको संरचना के हुने र कृषकका लागि आवश्यक शुद्ध र गुणस्तरीय बिउ कहाँबाट कसरी प्राप्त गर्न सक्छन् भन्नेबारे न त कुनै बहस चलेको छ न त कुनै कार्यक्रम नै बनेको छ। त्यसैले नयाँ जातको विकास र बिस्तार तथा अनदीजस्तै रैथाने धानहरूको व्यावसायीकारण भन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रहेका रैथाने जातका धानहरू लोपोन्मुख अवस्थामा छन्।

कसरी संरक्षण गर्न सकिन्छ ?
थोरै जग्गामा धेरै उत्पादनको होडबाजी र कृषि कार्यालले समेत उन्नत र हाइब्रिड (उत्पादन रैथाने जातको धानभन्दा तेब्बर हुन्छ) भित्र्याएपछि रैथाने धान हराउँदै गएको कृषकको भनाइ छ। रैथाने बालीहरू कृषि विकास तथा व्यावसायीकरण प्राथमिकतामा नपर्दा नेपालको आनुवांशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ। स्थानीय हावापानी अनुकूलका रोग, किरा सहने बाली मासिँदै जानु खाद्य सुरक्षाका मात्र होइन, जैविक विवधताकै दृष्टिले चिन्ताजनक मानिन्छ।

रैथाने बाली व्यावसायीकरणका लागि ठोस कार्यक्रम नहुँदा यस्ता बाली संरक्षणमा आशातित प्रगति हुन सकेको छैन। रैथाने बालीमा पाइने पौष्टिक तथा औषधिजन्य महत्त्वबारे उपभोक्तामा जागरुकता ल्याउनु आवश्यक छ। कृषकले रैथाने बालीको व्यावसायीकरणमा झेल्नुपरेको प्रमुख समस्या भनेको उक्त बालीको बिउ सहज उपल्ध नहुनु हो। कृषकलाई रैथाने बालीको बिउ सहज उपलब्ध गराउन सरकारले कृषक समूह र सहकारी मातहतका फर्म केन्द्रहरू तथा अनुसन्धान केन्द्रमार्फत यी धानहरूको बिउ उत्पादनमा जोड दिनुपर्छ। लोपोन्मुख जातको संरक्षणका लागि बिउ संकलन गरी खुमलटारस्थित जिम बैंकमा राख्न सकिन्छ र जैविक विविधता स्थापना गरेर संरक्षण गर्न सकिन्छ। साथै सबै तहका सरकारले अन्य सरोकारवालाबीच संविधानको सहकार्य, समन्वय र सह–अस्तित्वको अवधारणामार्फत साझा कार्यक्रमका रूपमा अघि बढ्ने नीतिहरू निर्माण गरी रैथाने बालीको संरक्षण गर्न सकिन्छ।

अन्त्यमा, खाद्य तथा पोषण सुरक्षा, कृषि वातावरणको विविधीकरण गरी दुर्गम क्षेत्रका समुदायमा कुपोषण र गरिबी उन्मूलन गर्नका लागि रैथाने बालीहरूको उपयोगको राम्रो विकल्प हुनसक्छ। तर बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई बिस्तापित गरेको छ। खानभन्दा बेच्न खेती गरिएकाले व्यावसायिक कृषकहरू हाइब्रिड जातका धान रोप्न तल्लीन भएको छन्। पुस्तौंदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीलाई सुहाउँदो हुन्छ। अहिले देशभर नै जलवायु परिवर्तन असर धानबालीमा परिरहेको बेला स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसक्ने भए पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो।

प्रतिकृया दिनुहोस