भारतमा आएको बाढीमा परेर १० नेपालीको मृत्यु, ११ जना नेपाली अझै बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीमा गत आइतबार आएको बाढीमा परेर मृत्यु हुनेमध्ये १० जना नेपालीको पहिचान भएको छ ।
स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो । हिमनदी फुट्दा धौलीगंगा र अलक नन्दासहितका नदीमा ठूलो बाढी आएको थियो ।
बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली, भारतीय मजदुर र स्थानीयबासीसहित दुई सयभन्दा धेरै बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ ।
मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शवको पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनीहरु जुम्ला र कालिकोटका हुन् ।
मृत्यु हुनेमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।
बेपत्तामध्ये ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका अधिकारीहरुले जनाएका छन् । त्यस मध्य अझै ११ जना नेपाली बेपत्ताको सूचीमा छन् ।
प्रतिकृया दिनुहोस