मेलम्चीले कालो बोको बलि नसहेकै हो त?
काठमाडौं : मंगलवार पूर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले मेलम्चीको मुहानमा कालो बोको बलि दिएको घटनाबारे असन्तुष्टि जनाए।
कम्युनिस्ट नेता तामाङले मेलम्ची मुहानको क्षेत्र काटमार निषेधित भएको उल्लेख गर्दै मुहानमा भएको दुर्घटना कतै यसै कारणबाट त भएको हैन भनी शंका व्यक्त गरे।
जतिसुकै विश्वाश नगर्ने भनिए पनि अन्धविश्वासमै नेपालीको विश्वास रहेको उनको भनाई थियो। त्यसैगरी उनले बलि दिएको घटनालाई क्षमा पूजा गर्नुपर्ने बताएका छन्।
'हामी नेपालीहरु अन्धविश्वासमा केही विश्वास गर्दछौं। त्यसैले त राम्रो होस भनेर सुरुङको परीक्षणको सुरुवात कालो बोको काटेर पूजा गरेर गरेको देखिन्छ। तर, सो हेलम्बु क्षेत्र धार्मिक हिसाबले नै काटमार निषेधित तपोभूमि क्षेत्र हो,' सांसद तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी जतिसुकै अन्धविश्वास मान्दैनौं भने पनि भूमि पूजा सबैले गर्दछौं तसर्थ सो भूमिले कतै बलि नसहेको त हैन? क्षमा पूजा जरुरी हुन सक्दछ?'
मेलम्ची खानेपानीको सुरुङ परीक्षणका क्रममा गेट फुस्केर पानी फर्कँदा खानेपानी कार्यालयका दुई कर्मचारी बेपत्ता भएका थिए। बेपत्ता भएका इन्जिनियर सतिस गोहितको शव बुधवार दिउँसो फेला परेको छ भने चालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन्। थापालाई खोज्ने क्रममा बिहीवार मेलम्चीमा गोताखोर टोलीको डुंगासमेत पल्टिएको छ। गोताखोर टोली भने सकुशल नै रहेका छन्।
कहिले दिइयो बलि?
असार २१ गते मेलम्चीबाट पानी पथान्तर उद्घाटन भयो। उक्त दिन पूजा समेत भएको थियो। पूजामा पुरोहित र लामाको प्रयोग भएको देखिन्छ।
गाउँपालिकाले भने जानकारी नै नदिई पानी पथान्तर गरेको आरोप लगाएको छ। यसो त गाउँपालिकाकै लामा उक्त दिन पूजा गर्न पुगेका थिए।
'कालो बोको ल्याएका थिए। हामीले यस क्षेत्रमा नकाट्नु भने पछि अन्तै लगे,' पूजामा सहभागी भएका मुख्य लामा दावाले भने। काटमार नगर्नु भनेपछि अन्तै लगेर बलि दिएको हुनसक्ने उनले बताए। 'बोका त फर्काएर लगेन होला, कतै बलि दियो होला,' लामाले भने।
ड्यामको काममा पूजा गर्ने भनी बोलाएर पूजा गरिएको लामाले बताए। उनले भने, 'ड्याममा काम गर्नुपर्ने भो भनेर फोन गर्नुभयो। हामी दुई जना गयौं। पानी पथान्तरण गर्ने कामबारे हामीलाई थाहा थिएन।'
पूजापछि पानी पथान्तरण गर्दा आफू चकित परेको उनले सुनाए।
वडा अध्यक्ष भन्छन् : कोरोनाकै बेला हतारमा काम गरियो
मेलम्ची मुहान अम्बाथान वडा १ मा पर्छ। वडा १ का अध्यक्ष मिङमार लामाले हतपतको कामले लतपत भएको बताए।
भने, 'कोरोनामा काम नगर्नु भनेर हामीले भनेको हो। तर हामीलाई त टेरेनन्। यहाँ स्थानीयलाई बिहे नगर। घेवा नगर भन्छ। तर, उनीहरु २५ - ३० जना जम्मा भएर काम गरे। यो सबै हतपतको कामले लतपत भएको हो।'
पानी पथान्तरणबारे आफूले समाचारमा आएपछिमात्र थाहा पाएको लामाले बताए। भने, 'यो संघीय सरकारको क्षेत्रमा पर्यो। हामीले चुइक्क केही बोल्न पाउँदैन। मनपरी छ। हामीलाई त केही गर्यो भने सिधै गोली हान भनेर संघीय सरकारले आदेश दिएको छ।'
आफू वनको अध्यक्ष हुँदा पनि परियोजनाका मान्छेले सेनासँगको मिलेमतोमा मध्यवर्ती क्षेत्रको तीनहजार जति रुख सखाप पारेको उनले आरोप लगाए।
बलि नदिने क्षेत्र भए पनि आफूहरुले रोक्नै नमिल्ने भन्नेमा आफू नरहेको उल्लेख गर्दै उनले मेलम्ची मुहानको दुर्घटना कमजोर संरचना नै भएको दाबी गरे। भने, 'मुलमै दुखद् घटना भयो। यो क्वालिटीको काम भएन।'
प्रोजेक्ट शुरु हुँदा पनि दिइएको थियो बलि?
मेलम्ची खानेपानी आयोजना शुरु हुँदा हेलम्बु गाउँ विकास समितिका अध्यक्ष थिए पासाङ ह्योल्मो। स्थानीयलाई सहजीकरण गर्न र मेलम्ची परियोजनासँग वार्ता गर्न छ गाविसका अध्यक्षहरुको समिति बनेको थियो। उक्त समितिकै अध्यक्ष थिए पासाङ।
त्यतिबेला बलि दिइएको बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए। भने, 'हामी अध्यक्ष हुँदा यहाँ ६ गाविसका अध्यक्षहरुको टिम बनेको थियो। यसको सम्पर्क समितिको अध्यक्ष मै थिएँ।हामीलाई मेलम्चीले केही सूचना दिँदैनथ्यो।'
उनले थप प्रश्न गरे, 'अहिले संघीयता आउँदा त गाउँपालिकालाई केही दिएन भनेको कुरा समाचारमा सुनेको थिएँ। त्यतिबेला त झन् के सूचना दिन्थ्यो हामीलाई?'
बलि दिनुहुँदैन भन्ने हो तर कसैलाई रोक्नु नै पर्छ भन्नेमा आफू नरहेको उनले बताए।
पानीको मुहानमै ह्योल्मोहरुको पवित्र देवता खिम्चुमुलाई पूजा गरिने प्रचलन धेरै अघि रहेको उनले बताए। त्यसैले पनि उक्त क्षेत्रको पहरा नचलाउन आफूहरुले अनुरोध गरेको पासाङको भनाई छ।
'पानीको मुहानमा पहिले ह्योल्मोहरुले खिम्चुमु पूजा गर्थ्यौ। खिम्चुमु ह्योल्मोहरुले मान्ने देउता हो। त्यस्तो ठाउँमा डाङडुङडुङ नगरौं। अलि पर गरौं भनेको थियो। झाँक्रीहरुले पनि त्यही भनेको थियो,' पासाङले भने, 'तर, मानेनन्। कालो बोको नै चढायो भन्ने कुरा हामीले थाह हुने कुरै भएन सुचना नदिएपछि।'
यसबारे बुझ्न परियोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।
मेलम्चीमा पानी पठाउनु अघि नै एकपटक क्षमा पूजा गरौं भन्ने कुरा भए पनि त्यसको सुनुवाई नभएको प्रदेश सभा सदस्य निमा लामाले बताए।
'क्षमा पूजा गरौं भन्ने पानी सुरुङमा पठाउनुभन्दा अघि नै भनेको हो। तर पूजा भएको छैन,' लामाले भने।
उनले यो प्राविधिक कमजोरी भएकोले आरोप प्रत्यारोपमा बस्नुभन्दा काममा लाग्नुपर्ने सुझाव दिए। भने, 'यो प्राविधिक कमजोरी हो। अब दोहोरो परीक्षणबिना त सुरुङमा पानी पठाउन गाह्रै होला। स्थानीयलाई विश्वासमा लिनुपर्यो। आरोपप्रत्यारोप गरेर बस्नु भएन।
स्रोतः पहिलो पोष्ट
प्रतिकृया दिनुहोस