आयुर्वेद स्वास्थ्य शिविरमा ३५४ जनाको स्वास्थ्य परीक्षण
चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य केन्द्रले भरतपुरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट तीन सय ५४ जना बिरामी लाभान्वित भएका स्वास्थ्य केन्द्र प्रमुख डाक्टर कोपिला अधिकारीले बताइन् ।
अधिकारीकाअनुसार सो स्वास्थ्य शिविरमा सर्जरी सम्बन्धी पाइल्स, फिस्टुला, फिसरका ४६ जना, नाक, कान, घाँटी, आँखा सम्बन्धी ७३ जना, स्त्री रोग सम्बन्धी ६१ जना, बाल रोग सम्बन्धी २० जना, हाडजोर्नीका ३६ जना, त्यस्तै मधुमेह, उच्च रक्तचाप, दम, खोकी, तथा ग्याष्ट्रिकका एक सय १४ जना बिरामीले लाभा लिएका छन् ।
स्वास्थ्य शिविरमा २३६ महिला, ९८ पुरुष र २० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरि निशुल्क रुपमा औषधि प्रदान गरिएको अधिकारीले बताइन् । स्वास्थ्य शिविरमा डाक्टर कोपिला अधिकारी, डाक्टर रमेश पौडेल, डाक्टर पुष्पराज पौडेल र डाक्टर अशोक कुमार महतोले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । जनताहरुमा आयुर्वेद सम्बन्धी चेतना बढाउने उद्देश्यले भरतपुरमा सम्पूर्ण रोगका विशेषज्ञ चिकित्सकहरुबाट एक दिने स्वास्थ्य परीक्षण गरिएको अधिकारीले बताइन् ।
रत्ननगरको बकुलहरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा सेक्ने मालिस गर्ने स्नेहन स्वेदन, ढाड कम्मरको समस्याका लागि कटिबस्ती, घुँडाको समस्याका लागि जानुबस्ती, पिनासका लागि नस्थ, तनाव तथा अनिन्द्राका लागि शिरोधारा पद्धतीबाट उपचार भइरहेको केन्द्रकी प्रमुख अधिकारीले जानकारी दिइन् । निशुल्क रुपमा सेवा प्रदान गरिरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाका लागि षोषणयुक्त औषधिसमेत वितरण गर्दै आइरहेको छ ।
स्वास्थ्य केन्द्रको मातहतमा भरतपुरमा ६ वटा, माडीमा एउटा र राप्तीमा एउटा आयुर्वेद औषधालय सञ्चालनमा छन् ।
प्रतिकृया दिनुहोस