रहनुभएन सभापति भण्डारी , पशुपतिमा गरियो अन्त्यष्ठी

वि सं २०६७ सालदेखि विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारीको कार्यवाहक सभापति हुनुभएका भण्डारी बि सं २०६९ चैतको जनकपुर महासभा र २०७६ कार्तिक २० को चितवन महासभाबाट सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो

 विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीका सभापति नीलप्रसाद भण्डारीको पुस २३बुधवार गते बिहान आफ्नै निवासस्थान कोटेश्वर काठमाडौमा निधन  भएको छ । ८२ वर्षका  भण्डारीको  बुधवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारअघि कोटेश्वरस्थित महासंघको सम्पर्क कार्यालयमा आयोजना भएको श्रद्धाञ्जली कार्यक्रममा सभापति भण्डारीको पार्थिव शरीरमा विश्व हिन्दु अन्तर्राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष प्रमोद चौरडिया र महासचिव अस्मिता भण्डारीले विश्व हिन्दु महासंघको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । सोही क्रममा पूर्वमन्त्री एवम् नेकपा नेता माननीय अग्नि सापकोटा, पूर्वमन्त्री कान्ता भट्टराई, पूर्वमन्त्री दीनबन्धु अर्याल, पूर्वमन्त्री डा रामचन्द्र अधिकारी, पूर्व प्रधान सेनापती रुक्मांगद कटवाल, पूर्व सांसद कर्णेल हेमबहादुर कार्की लगायत राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्वहरुले फूलमाला पहिराएर भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कोटेश्वर महादेवस्थानबाट उहाँको  शवयात्रा गरि आर्यघाटमा पुनः अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न राप्रपा नेता पूर्वमन्त्री पशुपति समशेर राणा, पूर्वमन्त्री कमल थापा, पूर्वमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लगायत सिन्धुपाल्चोकका सम्पूर्ण राजनीतिक दलका नेता ठूलो संख्यामा कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि धार्मिक गुरुहरु, धार्मिक संघसंस्थाका प्रतिनिधिसहित हजारौं व्यक्तिको भीड आर्यघाटमा उपस्थिति भएको विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले बताउनुभयो । भण्डारीलाई उहाँका जेठा छोरा महासंघका सचिव उत्तमराज भण्डारीले दागवत्ती दिनुभएको थियो । दिवंगत सभापति भण्डारीका श्रीमती खुदलक्ष्मी दुई छोरा उत्तम र गौतमका साथै तीन छोरी बिमला बिन्दा र विद्या रहेका छन् । विगत दुई वर्ष अगाडिदेखि क्यान्सर रोगले पीडित भण्डारीलाई भारतको नयाँ दिल्ली र ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएर गत श्रावणदेखि पूर्ण रूपमा क्यान्सरमुक्त भएको रिपोर्ट दिइएको थियो । वि सं २०६७ सालदेखि विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारीको कार्यवाहक सभापति हुनुभएका भण्डारी बि सं २०६९ चैतको जनकपुर महासभा र २०७६ कार्तिक २० को चितवन महासभाबाट सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ सामुदायिक वनको विश्वकै पहिलो अवधारणाकर्ता र अभियन्ता समेत हुनुहुन्थ्यो । उहाँले समुदायको सहभागिताबाट विकास शुरु गरेको वन विश्वको पहिलो सामुदायिक वन भएकोले नेपाल सरकारले उहाँलाई सामुदायिक वनको प्रथम अभियन्ताको सम्मानका साथै राष्ट्रपतिबाट पदवीसहित विभूषित प्रदान भएको थियो । उहाँ सिन्धुपाल्चोकको ठोकर्पा गाउँ पंचायतको प्रधानपञ्च (२०१९-२०३३) समेत हुनुहुन्थ्यो । २०६० सालमा जिल्ला विकास समिति सिन्धुपाल्चोकको सभापति समेत हुनुभएको थियो । भण्डारीको निधनबाट सनातन हिन्दु राष्ट्रको धार्मिक अभियानलाई ठूलो क्षति पुगेको भन्दै सयौं धार्मिक संघसंस्था र अभियन्ताहरुले सामाजिक संजालमार्फत शोक सन्देश र विज्ञप्ति निकालेका छन् ।उहाँको निधनमा  सुनकोशी गाउँपालिकाले शोक  विज्ञप्ती पनि जारी गदै वुधवार सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिकृया दिनुहोस