माघे सक्रान्ती मेला व्यवस्थापनको लागि तयारी सुरु


पुष ४ ,देवघाट तनहुँ 
नेपालकै प्रसिद्ध धार्मिकधाम  देवघाटमा माघे सक्रान्ती मेला व्यवस्थापनको लागि तयारी सुरु गरिएको छ । मेला व्यवस्थापनको तयारीको लागि देवघाट क्षेत्र विकास समितिको आयोजनामा विहिबार तनहूँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालाहरुको बृहत बैठक देवघाटमा सम्पन्न भएको छ ।
बैठकले माघे सक्रान्ती मेलालाई सव्य भव्य व्यवस्थित,मर्यादित र प्रभावकारी बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा मुल समिति र २२ वटा विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले सुरक्षा प्रबन्ध, प्राथमिक उपचार, भोजन तथा आवास, जलविहार, सवारी पार्किङ, सरसफाई, सजावट, प्रचार प्रसार लगायतका २२ वटा उप समितिहरु निर्माण गरेको छ ।
माघे सक्रान्ती मेलामा देवघाटमा पाँच लाख भन्दा बढि तिर्थालु भक्तजनजरु त्रिशुली र कालीगण्डकीको संगम बेणीमा स्नान गर्न आउने हुनाले भक्तजनको सुरक्षा र व्यवस्थापनको लागि ति समितिहरु शुक्रबारदेखी नै सक्रिय रुपमा परिचालन हुने समितिका अध्यक्ष पौडेलले बताए । भक्तजनको सुरक्षाकोलागि सुरक्षा व्यवस्थापनको लागि तिन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने तथा कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणसँग पनि समन्वय गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
पुसको अन्तिम सातादेखी भक्तजन देवघाटमा आउन थाल्ने र माघको पहिलो सातासम्म पनि उक्त मेलाको प्रभाव पर्ने हुँदा सबै समितिलाई क्रियाशिल बनाउने बारेमा बैठकमा छलफल भएको थियो । मेलाको तयारीकोलागि तनहूँ र चितवन जिल्ला प्रशासन कार्यालयमा पुनः बैठक बस्ने निर्णय पनि भएको छ । पुस १० गते सुर्यग्रहण लाग्ने हुनाले सो दिनपनि बेणी संगममा स्नान गर्न धेरै भक्तजनको भिड लाग्ने हुँदा ति सबै समितिहरु उक्त दिन सम्म क्रियाशिल रहने बैठकले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए

प्रतिकृया दिनुहोस